वंशावली प्रथम संस्करणका सम्पादक श्री के. पी. सिटौलाज्यूको मन्तव्य

खोजमेल गर्दा अनुभूति भएका प्रशंगहरु

वंशावली अन्वेषणको तुलनात्मक अध्ययन गर्दा कोइराला वंशलता अत्यन्त गहिरो प्रायः भरपर्दो ऐतिहासिक खोज तलास भएको र विशेष गरी ब्राह्मण क्षेत्रीको प्रादुर्भाव र आगमनका बारेमा यसमा उल्लेख गरिएको पाइयो।

यसरी ठम्याउँदा भारतवर्षको कुनै ठाउँबाट ११ औं शताब्दी तिर अल्मोडा जिल्लाको कुमाउ गढमा हाम्रो वंशका मानिसले प्रवेश गरेको अन्दाज हुन्छ। १६ औं शताब्दी भन्दा पूर्वको वंश अभिलेख वा प्रशंग भटाउन सकिदैन्। तर भारतवर्षमा मुसलमानी आतंक पछि बाहुन क्षेत्रीहरु पहाड पसेको कुरा मान्दै इतिहासकार श्री ज्ञवालीज्यू १३ औं १४ औं शताब्दीमा ब्राह्मण क्षेत्री नेपाल पसेको कुरा उल्लेख गर्नु हुन्छ। त्यसो त हिमालयका ५ क्षेत्र काश्मिर, जालान्धर, केदार (गढवाल) , मानस खण्ड (कुमाउ-डोटी नेपाल) मध्ये मानस खण्डको कुमाउसम्म विदेशी आक्रमणको चपेटा परिरहेको कुरा इतिहासले बताउँछ।

नेपालका बाहुनहरु भारतवर्षको कान्यकुब्ज (विद्याको केन्द्र) कन्नौजबाट आएको उल्लेख गरिन्थ्यो भने क्षेत्रीयहरु राजपुतनाबाट आएको पुष्‍ट्याई गरिन्थ्यो । नेपालको समाजभित्र वर्तमान अवस्थामा उपाध्यय, कुमाउनी, मैथिली, कर्णाटकी र तामिल मूलका ब्राह्मण पाइन्छन् भन्ने कथन छ। कुश (खस्) जातिका मानिसले डोटी, कर्णाली क्षेत्र र कुमाउ गढवाल तथा पश्चिमी मानसरोवर क्षेत्रसम्म एकताका शासन गरेको उल्लेख पाइन्छ।

नेपालको एकिकरण हुदा जो जहाँ थियो, त्यस्ले त्यहीँ आफ्नो जन्म तथा कर्म थलो बनायो। ठाउँ र गाउँको नामबाट कतिपय थर निर्धारण भएको छ, कतिपय कर्मचारीको पदवीबाट समेत थर बनेका छन्। नेपालमा प्रवेश गर्दासम्म अधिकांश बाहुन भट्ट नामधारी थिए। कुमाउ गढवाल र काँगडाका बासिन्दाहरुको थर बन्ने कुरामा नेपाल कै जस्तो ठाऊँ, दर्जा, पेशा र विशेष कामकुराबाट पनि थरको सृजना हुदोरहेछ। यसै गरी कुनै न कुनै रुपबाट सिटौलाको पनि थर सृजना भई कायम भएको होला भन्ने अनुमान गर्न सकिन्छ। उदाहरण स्वरुप दार्चुला जिल्लाको क्षेत्र नंम्बर दुईमा पर्ने सिटालाबाट सिटौला गा.वि.. को नामाकरण भएको पाइन्छ।

खस् संस्कृतिका अन्वेषक इतिहासकारहरुले खस् (कुश) जातिभित्र पनि ब्राह्मणहरुको छुट्टै अस्तित्व भएको स्वीकार गर्दछन्। अफगानिस्तानका विशिष्ठ विद्वान पंण्डित उमाकान्त भट्टले (१२ जिल्दमा तयार पारेको अर्यायणमा ४ उच्च ब्राह्मण कूल मध्ये) खस्(कुश) ब्राह्मणलाई पनि गणना गरेको पाइएको छ। काराकोरम पर्वतमालाको दक्षिण पट्टीपर्ने काश्मिर देशको नाम कुश(खस्) जाति कै नामबाट प्रसिद्ध छ र यो नाम पुराणमा पनि पाइएको हुँदा वैदिक कालतिर कै भन्नुपर्ने स्थीति हुन्छ।

गोत्र सम्बन्धी खोज गर्दा देवगुरु वृहस्पतीका छोरा भारद्वाजले कारणवश मरुत्गणको अधिनमा रहनु पर्‍यो। त्यसै बेला दुष्यन्त पुत्र चक्रवर्ती राजाका छोरा भरतको वंश क्षीण भयो। राजा भरतले पुत्रेष्ठी यज्ञ गरे। यज्ञबाट प्रसन्न भई मरुत्गणले भरतलाई वर्दान दिए। उनै भरद्वाजलाई पुत्रको रुपमा लिए। भरद्वाजले पनि राजा भरतको पुत्र भएर मरुत्गणको वचन सत्य गराउन र आफ्नो कार्य सिद्धिका लागि पुत्रेष्ठी यज्ञ गराए। अग्नी कुण्डबाट भूमण्युको जन्म भयो। यसरी भरद्वाज पुत्र भूमण्युलाई राज्यभिषेक गरी भरद्वाज तपश्या गर्न जंगल गए। तपश्याद्वारा प्रख्यात भई उनले अर्कै छुट्टै भारद्वाज गोत्र चलाए। यस प्रसंगमा महर्षी भारद्वाज ऋषिको नामबाट पनि भारद्वाज गोत्र रहेको हुन सक्ने अनुमान गरिन्छ। पौराणिक इतिहासको सेरोफेरोमा बाँधिदै आउदा सिटौला वंशको गोत्र पनि भारद्वाज रहन गएको होला भनि अनुमान गर्न सकिन्छ।

संस्कृतिक पक्ष पट्टी अतितको स्मरण र अध्ययन गर्दा सिटौला वंशका पुरानो पुस्ताले कूलपूजा गर्दा मन्दिरको सम्झनामा खोपामा कलश राखी कुलपूजा गर्ने गरेको मरुत्रुपलाई (हावा, विद्युत वा पानी, पृथ्वी, अग्नी र आकाश) भगवान शिवको एउटा पूर्ण स्वरुपलाई स्वीकार गरी पूजा गरेको देखिन्छ। गोष्ठ देवताको सिंङ्गो नाम (. महारुद्र,. कोढाब्रह्म,. ऐरादेवता (शिकार देवता),. गैडु,. गोशाई र . गैया) उक्त छ देवताका माथि कसैले कुलदेवता मष्टा थपेर ७ पुर्‍याउछन् भने, कसैले कुनै कुलदेवी (काली, तारा, चण्डी वा दुर्गा, विन्ध्यवासिनी) मध्ये एक थपेर ७ पुर्‍याउछन्। यो प्रथा नेपाली जगतको घर-घरको परम्परागत सांस्कृतिक पक्ष हो।

यो सांस्कृतिक पक्षलाई कूरुराज्य वा पांञ्‍चाल (कान्यकुब्जा)बाट पहाड पसेका ब्राह्मण, क्षेत्री र अन्य जातिले पनि स्वीकारेको हुदा नेपाली आर्यमूलका जातिहरुको छुट्टै संस्कृतिको निर्माण भएको पाइन्छ। अन्य ब्राह्मण क्षेत्रीले खस् संस्कृतिका परम्परा गोष्ठपूजा, गोष्ठदेवता र कूलदेवताको रुपमा मानिने मरुत (मष्टा) अन्य ग्रामदेवताको मान्यतालाई पूर्णतः स्वीकार गरेका छैनन्। तर वर्तमान अवस्थामा भने धेरै कुरामा संशोधन र समयानुकूल (सनातन) भएर आएको पनि पाइन्छ। नेपाली संस्कृतिमा अगेनामा आगो हुनुपर्दछ, आगो निभ्यो भने भान्सा छोइने हुन्थ्यो र त्यस्तो भोजन गर्न नहुने परम्परा थियो। तर यो परम्परा वर्तमान अवस्थामा प्रायः विलिन भएर गएकोछ।

कुश विर्ता को सन्दर्भलाई हेर्दा १७४५ मा राजा राघवेन्द्रले शिवहरी कोइरालालाई प्रदान गरेको कुश विर्तामा ठूलो झगडा पर्दा काठमाण्डौका राजा भूपालेन्द्र मल्लले मध्यस्थता गरी मुद्धा हेरी ताम्रपत्र बमोजिम गरिदिएको लालमोहर प्राप्त छ भन्ने उल्लेख भेटिएको हुँदा त्यसै गरी सिटौला वंशको विर्ता पनि प्राप्त भएको थियो कि भनि अनुमान गर्न सकिन्छ। हालको मध्यमाञ्‍चल विकास क्षेत्र, बागमती अञ्‍चल, नुवाकोट जिल्ला स्थित नर्जाकपिलास, शिखरबेँसी, तल्लो चुहाण्डाँडा, माथिल्लो चुहाण्डाँडा भन्ने ठाऊँमा राजा प्रताप मल्लको पालामा सिटौला वंशका व्यक्तिले पनि कुश विर्ता पाएको कुरा स्थलगत रुपमा सत्य ठहर्छ। आधिकारिक रुपमा प्रमाणित हुन त्यसको ताम्रपत्र, शिलालेख वा लालमोहर भने हालसम्म प्राप्त हुन सकेको छैन। यस प्रकार कोइराला र सिटौलाले पाएको कुश विर्ताको सिमाना त्रिसुली नदी रहेको अनुमान गर्न सकिन्छ।

यसरी कुश विर्ता पाएको ठाऊँबाट पूर्वतर्फ आउने सिटौला वंशको पुस्ता विभिन्न ठाउँमा घुम्दै अन्त्यमा तेह्रथुम जिल्लाको आठराइ चुहाण्डाँडा वेतिनीमा गएर स्थायी बसोबास गरेको देखिन्छ। त्यही स्थानबाट पूर्वगएको वंश निघुरादिन, फुलबारी, ढाँडे. हाम्पाङ्ग, नम्लुक, पाँचथर, मेदिबुङ्ग ताप्लेजुङ्ग हुदै हाल पुर्वाञ्‍चलका विभिन्न जिल्लामा फैलिएको पाइन्छ।

यसपछि पूर्वबाट पश्चिम बसाई सरेर जाने बन्धुबान्धव र पश्चिमबाट पूर्व आउने बन्धुबान्धव पनि नगन्य भएकोले जुन प्रकारको जानकारी, सम्वाद, सञ्‍चार र सम्पर्क हुनपर्ने हो सो नभएको देखिन्छ। एकआपसमा आउजाउको कमि देखिएता पनि वंशावली संकलनकर्ता र अन्य उत्सुक बन्धुबान्धवले सकेसम्म साथै सम्भव भएसम्म पश्चिमका ठाऊँहरुमा पुग्नुभएको र भारतका विभिन्न सम्भावित स्थानहरुमा पुगेर विवरण संकलन गर्नुभएको कुरा वहाँ स्वयंले बताउनु भएको छ। वंशावली प्रकाशनको दोस्रो संस्करणको अवधिसम्म पश्चिमफाँटमा रहनु भएका बन्धुबान्धवले यस वंशावलीमा अधुरो रहन गएको विषय अध्ययन गरी आवश्यक पुर्ति गर्न अग्रसर हुनु हुनेछ भन्ने विश्वास हामीले गरेका छौं।

दिनाङ्क २०४८ साल चैत्र

संम्पादक

के. पी. सिटौला

सरस्वती टोल, विराटनगर