वंशावली द्वितीय संस्करणमा समाजका महासचिव श्री भोलाप्रसाद सिटौलाज्यूको मन्तव्य

भूमिका

मानिसको परिचय अनादिकालदेखि नै कामको आधारमा हुदैआएको छ। त्यसै गरी बसोबास गरेको स्थान र पूर्वजले अपनाएको पेशा साथै स्वीकार गरिएको संस्कार तथा शिक्षाको आधारमा समेत गोत्र, प्रवर, थर कायम हुदैआएको छ। यसै आधारमा परापूर्वकालदेखि कूलदेवता र कूलदेवीको पूजा गर्ने परम्परा चल्दैआएको पाइन्छ। मानव सम्प्रदायको विकास र बिस्तार सँगै आफ्नो अनुकूल कूलदेवताको स्थापना गरी पूजा आरधना गर्ने गरेको र यो नै उसको परिचय र भावी सन्ततीको अग्रिम जीवनशैली समेत बन्न पुगेको छ।

मानव एक विवेकशील प्राणी भएकोले आफ्नो परिचयका लागि आफू कहाँबाट आएको ?, आफ्नो पारिवारक पृष्ठभूमि के हो भनेर जान्न चाहन्छ। यसै क्रममा सिटौला थर कसरी कायम रहन गयो, कूलदेवता को हुन ?, मूलथलो कहाँ हो ? भन्ने कुराको बारेमा खोजविन, चर्चा-परिचर्चा गरी यथासम्भव जानकारी प्रकाशनमा ल्याउनु अपरिहार्य भएको छ।

सिटौलाहरुले कूलदेवताका रुपमा हिन्दु धर्मावलम्वीका त्रि-आराध्यदेव मध्ये देवाधिदेव महादेव (जरुड महादेव) र मातृशक्तिको रुपमा (परम्परा अनुसार कूतवालदेवी, कतै गंगादेवी, ऐरेनीदेवी त कतै नवदुर्गालाई) स्थापना गरी पूजा गर्ने परम्परा चल्दै आएको पाइन्छ। सिटौला वंशको खोजीकार्यका क्रममा आध्यात्मिक दृष्टीले समेत विचार गर्दा आजसम्म उपलब्ध सबै सिटौलाहरु भारद्वाज गोत्री मात्र रहेएको भेटिएका छन्। हाम्रा उनै कूलपूर्खाका ऋषि भारद्वाजले कूलदेवताका रुपमा देवाधिदेव महादेव (शिव) र आदिशक्ति देवी (नवदुर्गा)लाई मानेर त्यसपछिका सन्ततीहरुले पनि सोही बमोजिम अवलम्बन गर्दै आएको पाइन्छ।

सिटौला वंशको बसोबासको विषयलाई खोजीनीति गर्दा भारद्वाज गोत्रका उपाध्याय ब्राह्मण हाम्रा पूर्खा भारतको कुमाउ गढवाल क्षेत्रबाट नेपालको महाकाली अञ्‍चलको विकट स्थानमा सर्वप्रथम आएर बसोबास सुरु गरेको अनुमान गरिएको छ। उक्त स्थान सुरुमा पुरै सिटो घारीले ढाकिएको अवस्थामा हाम्रा पुर्खाले त्यसलाई फडानी गरी खेतीयोग्य जमिनमा परिणत गरेर घरबास गरेको किम्बदन्ती पाइन्छ। उक्त कारणले अन्य टोल छिमेकीहरुले उक्त ठाऊँलाई सिटो टोल नामाकरण गरीएको साथै सिटोटोलमा बसेका ती पूर्खा उपाध्याय ब्राह्मण सिटोटोले भनेर बोलाउदा बोलाउदै शब्द अपभ्रंश भएर सिटौला हुन गएको भनाई छ। मेरा पिता श्रीप्रसाद सिटौला स्वयंले पनि हामीलाई यसरी नै जानकारी गराउँनु भएको थियो। त्यही स्थान कालान्तरमा सिटौला गाऊँमा परिणत भएको हुनुपर्छ। हाल उक्त स्थान महाकाली अञ्‍चल, दार्चुला जिल्लाको सिटौला गाउँ विकास समिति नै हो भनी सहजै अनुमान गर्न सकिन्छ। राष्ट्रिय जनगणना, २०६८ बमोजिम उक्त गाऊँ विकास समितिमा घर संख्या ५५७ र जनसंख्या ३३५६ रहेको प्रमाण छ।

नेपाल एकीकरणका समयमा सिटौलाहरुबाट सहयोग पाएपछि पृथ्वीनारायण शाहबाट नुवाकोटको नर्जा कपिलास (चुहाण्डाँडा) क्षेत्रमा विर्ता दिई केही सिटौलाहरुलाई ल्याई राखिएको किम्बदन्ती छ। नुवाकोटमा वंश विस्तार हुदै गएपछि कोही पूर्वतर्फ लागेको र कोही नुवाकोट कै आसपासमा बसाई सरेका पाईन्छ। पूर्वतर्फ गएका बन्धुहरुको वंशवृक्ष झाँगिदै जाँदा तेह्रथुम आठराइको चहाण्डाँडा, मूलपानी (हालको संक्रान्ती बजार) हुँदै ताप्लेजुङ्ग जिल्लाको निगुवरादिन, ढाँडे, फुलबारी, हामपाङ्ग, छिन्ताङ्ग, नुम्लुक, पाँचथरको आङ्गबुङ्ग, केराबारी, जोरपोखरी र तम्मोर काबेली पारीपट्टि फुङ्लिङ्ग गाविस स्थित मेदिबुङ्ग सिटौला वंशको पूर्वको मूख्य बासस्थान मानिन्छ। यिनै मूल स्थानबाट पहाडी जिल्लामा संखुवासभा, तराइका जिल्लाहरुमा मूख्य गरेर सुनसरी, मोरङ्ग र झापामा सिटौला वंशको बसोबास रहेको पाइन्छ। पश्चिममा नुवाकोट नर्जा कपिलास, चुहाण्डाँडा, शिखरबेसी, फुर्केसल्ला, खत्रीवेँसी, भद्रुटार, धादिङ्ग जिल्लाको सल्यानकोट (ठूलो कठेरी र सानो कठेरी) , सुनखानी चैनपुर र काभ्रे जिल्लाको देवभूमि हुँदै चैनपुर कुशलटार, तिमाल तथा भुम्लटार (कोशीपारी) सम्म बसोबास गर्ने बन्धुहरु हाल अधिकांश काठमाण्डौ उपत्यकालाई आफ्नो व्यवसायिक थलो बनाई बसेका छन् भने केही बन्धुहरु मूलथलोबाट मकवानपुर, बारा, पर्शा, चितवन र नवलपरासी, वर्दिया, कैलालीसम्म छिटफुटरुपमा रहेको पाइन्छ। यसै गरी भारतको आसाम, मणिपुर, सिक्किम, पश्चिम बङ्गाल साथै भुटान र वर्मामा पनि सिटौला वंश फैलिएको पाइन्छ। यति हुदाहुदा अब अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, अमेरिका, युरोपियन मूलुकहरु र विश्वका कतिपय नाम नै नसुनेका मूलुकहरुमा पनि सिटौला बन्धुहरु स्थायी वा अस्थायी बसोबास गरिरहनु भएको पाइन्छ। संसारको कुनाकुनामा रहेर पनि सिटौला बन्धुहरुले आफ्नो कूल-परम्परा अनुसार नियमित रुपमा गोठधुप तथा कूलपूजा गरी आफ्नो संस्कृति र परम्पराको रक्षा गरेको पाइन्छ।

प्रथम पटक २०४८ सालमा सिटौलाहरुको वंशावली प्रकाशन पश्चात संस्थागत रुपमा अद्यावधिक गरी तयार गरिएको यस वंशावलीको पुस्तकले सिटौला वंशको उत्पत्तिका बारेमा समान्य जानकारी दिने प्रयास गरको छ। पूर्व मेची देखि पश्चिम महाकाली र विदेशमा छरिएर रहेका बन्धुहरुको श्रृंखलावद्ध रुपमा प्राप्त भएसम्म अद्यावधिक विवरण समावेश गरिएको छ। वंशावलीको यस संस्करणमा पुस्ता, पिँडी र नाता कायम गर्न सहज हुने गरी तयार गरिएको छ। यसले सबै सिटौला परिवारलाई एकतावद्ध गरी संगठनात्मक रुपले संस्थाको उद्धेश्य हासिल गर्न सफलता प्राप्त गर्ने विश्वास हामीले लिईएका छौं। सिटौला वंशले नेपालमा सर्वप्रथम बसोबास गरेको भनिएको दार्चुला जिल्लाको सिटौला गाउँ विकास समिति लगायत सिटौला वंश बसोबास गरेका अन्य सम्भावित स्थानहरुमा सिटौला सेवा समाज नेपालको संस्थागत उपस्थितिको खाँचो टड्कारो रुपमा खड्किएको छ। वंशको खोजविन, अनुसन्धान र नयाँ नयाँ जानकारी प्राप्त गर्ने विषय जहिल्यै पनि खुल्ला गरिनुपर्दछ, यसले वंशावलीलाई पूर्णता दिन साथै सबैमा दरिलो विश्वास दिलाउन मद्धत गर्दछ। अतः आगामी दिनमा वंशावलीलाई वेभ साईट मार्फत प्रकाशित गर्नुअघि नै यस संस्करणमा भएका त्रुटी, नमिलेका वंश विवरणहरुलाई सच्याउनुका साथै छुट हुनुभएका बन्धुहरुको विवरण समेत समावेश गरी यसलाई अद्यावधिक गर्ने प्रतिवद्धता जाहेर गर्दछौं।

भोला प्रसाद सिटौला

महासचिव

सिटौला सेवा समाज नेपाल

काभ्रे जिल्ला, खरेलथोक वडा नं.,

हाल का...पा., वडा नं., बुलबुले, काठमाण्डौ।

दिनाङ्कः २०७० साल, जेष्ठ ४, शनिबार