अध्यक्षको प्रतिवेदन 2082-2-10 शनिबार
सिटौला सेवा समाज नेपालको सातौं अधिवेशन एवं तेह्रौं वार्षिक साधारण सभामा प्रस्तुत अध्यक्षको प्रतिवेदन
आदरणीय बन्धुहरु !
यस साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिगण, समाजका सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु, सहयात्री आदरणीय बन्धुहरु, सभामा उपस्थित मेरा कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरु, मेरा मान्यजन, ज्वाईंचेला, भान्जाभान्जी र उपस्थित सम्पूर्ण सदस्य महानुभावहरु,
सिटौला सेवा समाज नेपालको यो सातौं अधिवेशन एवं तेह्रौं वार्षिक साधारण सभालाई सार्थकता दिन र समाजको गरिमा कायम राख्न आजको दिन समाजको यस कार्यक्रमलाई समर्पण गरिदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक स्वागत एवं अभिवादन गर्दछु। उपस्थित सबैमा हार्दिक अभिवादन !
सिटौला कुलको इतिहास केलाउदा समाजको हितका लागि व्यक्तिगत अवसरलाई तिलाञ्जली दिएर समग्र समाजको हितमा काम गरेका उदाहरणहरु हामीसँग प्रसस्त छन्। शिक्षाको दीप प्रज्ज्वलित गर्ने देखि लिएर बाटोघाटो, पुलपुलेसा निर्माण गर्ने कार्यमा समेत हाम्रा पुर्खाले अग्रणी भूमिका निर्माण गरेको पाइन्छ। हाम्रा पूर्वजहरुले समाज सेवाको नासो हामीलाई सुम्पिएर जानुभएको छ। पूर्वजहरुको उक्त नासोलाई सहर्ष स्वीकार गरेर त्यसको संम्रक्षण एवं संवर्द्धनका लागि समाजलाई एक ढिक्का बनाएर लैजान कार्यसमिति सक्षम रहेको विश्वास दिलाउन चाहन्छु।
आ-आफ्नो स्वभाव, विचार एवं भावना बोकेका व्यक्तिहरु साझा (सामाजिक) स्वार्थमा केन्द्रित भएर समाज, संगठन तथा संस्था निर्माण भएको हुन्छ। संस्थामा सकारात्मक भएर काम गर्दै जाँदा छिटफुट घटनाहरु घट्दा रहेछन्। यसलाई हामीले सहज रुपमा स्वीकार गर्नु पर्दो रहेछ। भूलवश गरिएका कामलाई सच्याएर लैजान फराकिलो मन र उदार हृदय बनाएर सम्भावनाका सबै ढोकाहरु खोल्न तत्पर हुन सक्नुपर्छ। सिटौला सेवा समाज नेपालको केन्द्रीय कार्यसमिति यस्ता विषयमा सदा तत्परताका साथ उपयुक्त समयको पर्खाईमा छ। सिटौला सेवा समाज नेपाल यस विषयमा सदैव सकारात्मक रहेको कुरा यस गरिमामय सभा मार्फत सम्पूर्ण बन्धुहरुमा प्रतिवद्धता व्यक्त गर्दछु। समाजलाई अग्रगमन तर्फ उन्मुख गराउँन र सिटौला बन्धुहरुलाई एकताको सूत्रमा बाँध्न यहाँहरुले प्रदान गर्नुभएको सुझाव, हौसला, सहयोग, समर्थन, मार्गदर्शन र ऐक्यवद्धतालाई समाजको केन्द्रीय कार्यसमिति प्रेरणाको रुपमा ग्रहण गर्दछ।
समाजका पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु साथै हाम्रो काम प्रति पूर्ण भरोसा अनि विश्वास गरेर हामीलाई साथ दिनुहुने सम्पूर्ण बन्धु-बान्धवहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। विशेष गरी उत्तर अमेरिकामा बसोबास गरेर नेपाल र सिटौला वंशको उद्धारका लागि तन, मन र धनले समाजको उद्धेश्यमा एक्यवद्धता जाहेर गर्नुहुने सम्पूर्णमा हार्दिक दण्डवत गर्न चाहन्छु।त्यसै गरी समाजको जग्गा खरिदमा झापामा बसोबास गर्नुहुने बन्धुहरुले पुर्याएको योगदान अविस्मरणीय छ।धादिङ्ग, नुवाकोट लतायत उपत्यका भित्र बसोबास गर्नुहुने बन्धुहरुको योगदान प्रसंशनीय छ। संसारको कुना कुनाबाट जग्गा खरिदका लागि भएको सहभागिताले हामीलाई थप काम गर्न हौसला मिलेको छ। तपाईहरुले निस्वार्थ भावले गर्नुभएको योगदानले आगामी कार्यसमितिलाई अझ उत्साहित भएर काम गर्न हौसला मिल्नेछ भन्ने मैले विश्वास लिएको छु। सम्भावनाको ढोका खोल्न यहाँहरुले देखाएको सकृयता, कार्यकुशलता एवं सहभागिताले यो समाज जीवन्त एवं सकृय रहेको छ।
लामो समयदेखि समाजको कार्यसमितिमा छलफलको विषय बनेको घरजग्गा व्यवस्थापन अन्तर्गत जग्गा खरिद गर्ने कार्य मिति २०८१ साल बैशाख ३ गते सम्पन्न भएको छ। भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८, सिपाडोल, पवित्र तिर्थस्थल डोलेश्वर महादेवको मन्दिर नजिकै धार्मिक तथा पर्यटकीय क्षेत्र भित्र ८ रोपनी १५ आना जग्गा जम्मा रु. २,१३,४७,८०५/- (दुई करोड तेह्र लाख सत्चालिस हजार आठ सय पाँच रुपैयाँ) खरिद गरिएको छ। उक्त जम्मा खरिद रकम मध्ये जग्गाधनीलाई रु.२,००,००,0००/- (दुई करोड रुपैयाँ) भूक्तानी गरिएको छ र उक्त जग्गा खरिद गर्दा लाग्ने सरकारी राजस्व समेत अन्य खर्च रु. १३,४७,८०५/- (तेह्र लाख सत्चालिस हजार आठ सय पाँच रुपैयाँ) भएको कुरा यस गरिमामय सभा समक्ष जानकारी गराउन पाउँदा म लगायत सिंङ्गो कार्यसमिति हर्षित भएको छ।यस सम्बन्धमा विस्त्रित विवरण कोषाध्यक्षको प्रतिवेदनमा समावेश भएर सम्मानित सभा समक्ष पेश हुनेछ।
उल्लिखित जग्गा खरिद कार्यमा समाजको आह्वानलाई स्वीकार गरेर निष्काम कर्मको यज्ञकुण्डमा होमिनु हुने सबै बन्धुहरुलाई उच्च सम्मानका साथ हृदयदेखि नै आभार व्यक्त गर्दछु। यहाँहरुको सहभागिताले समाजको गौरवपूर्ण इतिहास निर्माणको आधार तयार गर्न टेवा पुगेको छ। जग्गा खरिदको लागि यहाँहरुलाई आह्वान गर्दा सामाजिक सञ्जाल मार्फत समाजले केही प्रतिवद्धता व्यक्त गरेको थियो। उक्त विषयहरुलाई समेत समावेश गरेर मिति २०८२ जेठ ७ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले देहायका विषयहरु पारित गरी अनुमोदनको लागि सातौं अधिवेशन एवं तेह्रौं वार्षिक साधारण सभा समक्ष पेश गर्ने निर्णय गरेको छ। उक्त बैठकले पारित गरेका विषयहरुलाई यस गरिमामय सभाबाट अनुमोदन गरियोस भनी प्रस्ताव पेश गर्दछु।
(क) २०८१ साल बैशाख ३ गते, भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८, सिपाडोलमा सिटौला सेवा समाज नेपालले ८ रोपनी १५ आना जग्गा जम्मा रु. २,१३,४७,८०५/- (दुई करोड तेह्र लाख सत्चालिस हजार आठ सय पाँच रुपैयाँ) मा खरिद गरिएको छ। उक्त जम्मा खरिद रकम मध्ये जग्गाधनीलाई रु.२,००,००,0००/- (दुई करोड रुपैयाँ) भूक्तानी गरिएको छ र उक्त जग्गा खरिद गर्दा लाग्ने सरकारी राजस्व समेत अन्य खर्च रु. १३,४७,८०५/- (तेह्र लाख सत्चालिस हजार आठ सय पाँच रुपैयाँ) मा खरिद कार्य सम्पन्न भएकोमा उक्त जग्गा खरिद कार्य, खरिद मूल्य, जग्गा खरिदमा भएको खर्च र जग्गा खरिदमा सहभागी दाताहरुको नामावली अनुमोदनको लागि पेश गर्दछु।
(ख) जग्गा खरिदको अभियान अन्तर्गत समाजले प्रतिवद्धता जनाएको “घरजग्गा व्यवस्थापन” वा यसलाई अझ उपयुक्त नामाकरण गरी यस पहिलो चरणका १९१ (एक सय एकानब्बे) सहभागी दाताहरुलाई अभियानका संस्थापक सदस्य घोषणा गरियोस् भनी अनुमोदनको लागि सभा समक्ष पेश गर्दछु।
(ग) “सिटौला स्तम्भ २०८१” निर्माण गरी सहभागी दाताहरुको तीन पुस्ते विवरण सहितको शिलालेख उक्त जग्गाको परिसर भित्र सबैले देखिने गरी व्यवस्थापन गर्न अनुमोदनको लागि पेश गर्दछु।
(घ) सहभागी दाताहरुलाई विभिन्न सम्मान तथा उपमाले सम्बोधन गरी सम्मानित गर्न अभियानको अन्तिम चरणमा सहभागी भएको जम्मा रकमका आधारमा गरियोस भनी अनुमोदनको लागि पेश गर्दछु।
(ङ) थप जग्गा खरिद गर्न र उक्त जग्गामा निर्माण कार्य गर्नुभन्दा पहिले जग्गा खरिदमा सहभागी दाताहरु (उत्तर अमेरिका, युरोप एवं अन्य मुलुकहरु, झापा लगायत कोशी प्रदेश, काठमाण्डौ उपत्यका, नुवाकोट र धादिङ्ग एवं बाँकी जिल्लाहरुलाई ६ भाग लगाएर) जग्गा खरिदमा रकम सहभागी भएको आधारमा रेसियो कायम गरी सबैको प्रतिनिधित्त्व समावेश हुनेगरी एक “घरजग्गा व्यवस्थापन एवं निर्माण समिति” (जसले गुरु योजना समेत तयार गर्नेछ) ठगन गर्न सम्मानित सभा समक्ष अनुमोदनको लागि पेश गर्दछु।
(च) आगामी निर्वाचित कार्यसमितिलाई काम गर्न सहजिकरणका लागि सिटौला सेवा समाज नेपालका केन्द्रीय कार्यसमतिका पदाधिकारीहरु रहने गरी, उक्त सचिवालयको काम, कर्तव्य र अधिकार आफैले निर्धारण गरी प्रचलित मर्यादाक्रम अनुसार ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्न अनुमोदनको लागि पेश गर्दछु।
(छ) सिटौला सेवा समाज नेपालले गत छैटौं अधिवेशन एवं एघाह्रौं साधारणसभाले लोकार्पण गरेको सिटौला वंशावलीलाई “अनलाइन सिटौला वंशावली, २०७९” नामाकरण गरी उक्त वंशावलीलाई केन्द्रीय कार्यसमितिको अंङ्ग बनाईयोस भनी अनुमोदनको लागि पेश गर्दछु।
संसारभरीका बन्धुहरुको सहभागितामा समाजले खरिद गरेको जग्गामा कुन कुन संरचना निर्माण गरिनेछ भन्ने विषय माथि उल्लेखित बुँदा नं. (ङ) अनुसार गठित समितिको अन्तिम निर्णय पछि मात्रै हुनेछ। यहाँहरुको समान्य जिज्ञासा निवारणका लागि समाजले घरजग्गा खरिद अभियान प्रारम्भ गरेका बखत प्रस्तावित मुख्य मुख्य निर्माण कार्यलाई निम्नानुसार यस गरिमामय सभा समक्ष पेश गर्दछु।
(क) जग्गामा प्रवेश गर्दागर्दै सवारी पार्किङ्ग स्थल निर्माण गरिने लक्ष्य राखिएको छ।
(ख) सोही नजिक सर्वसाधारणलाई समेत प्रवेश खुल्ला रहने गरी भान्साघर निर्माण गरिने लक्ष्य लिएको छ।
(ग) अशक्त, विरामी र वृद्धवृद्धालाई लक्षित गरेर स्थायी बसोबासको लागि आवासीय भवनहरु निर्माण गर्ने लक्ष्य लिएको छ।
(घ) समाजमा आउने पाहुनाहरुलाई लक्षित गरी समाजको स्थायी आयस्रोत हुनेगरी एउटा पाहुनाघर (Resort Type Hotel) निर्माण गर्ने लक्ष्य राखिएको छ। जसमा बस्न र खानको उचित प्रबन्ध रहनेछ।
(ङ) बालबालबालिका, वृद्धवृद्धा र घुम्न जानेका लागि आकर्षक बगैंचा एवं पार्क निर्माण गर्ने लक्ष्य लिएको छ।
(च) संस्थापक सदस्यहरुको तीन पुस्ते विवरण सहित नामावली अभिलेख गर्न “सिटौला स्तम्भ २०८१” निर्माण गरिनेछ।
(छ) सिटौला वंश प्रचलन अनुसार कुलपूजा गर्न एउटा कुलदेवी-देवाताको मन्दिर यथा सक्य चाँडो निर्माण गरिने लक्ष्य लिएको छ।
(ज) सर्वसाधारण सबैलाई खुल्ला हुने गरी एउटा शिवालय मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ।
सिटौला बन्धुहरुको 2042 सालमा गोदावारीमा भएको पहिलो सामुहिक वनभोजबाट अनौपचारिक रुपमा गठन भई सुरु भएको यो संगठन 2067 सालमा "सिटौला सेवा समाज नेपाल" को नामबाट विधिवत रुपमा दर्ता गरी कार्यसञ्चालन गरिएको कुरा सर्वविधितै छ। केन्द्र र जिल्ला शाखा बीचको सम्बन्ध सुधार गरी सबै जिल्ला शाखाहरुलाई केन्द्रसँग आवद्ध गरिएको छ। केन्द्र र जिल्ला शाखा बीचको सम्बन्धलाई कार्यव्यवस्थापन विनियमावलीले अझ व्यवस्थित गर्ने आशा लिएको छु।
उपस्थित महानुभावहरु !
सिटौला सेवा समाज नेपालको कार्यसमितिका सदस्यहरु साथै सल्लाहकार एवं वंशका गन्यमान्य व्यक्तित्त्वहरुको आग्रह तथा अनुरोधलाई स्वीकार गरी समाजको दुई कार्यकाल मैले सबैको साथ र सहयोगमा व्यतित गर्नपाउदा म अत्यन्तै खुसी छु। मेरो उमेर र शारीरिक अवस्थाका कारण पनि थप उत्तरदायित्त्व बहन गर्न खोज्नु मेरो मात्र दुस्साहस हुनेछ, भन्ने मलाई पूर्ण विश्वास छ। अबका दिनहरु मैले आध्यात्मिक संसारमा ईश्वरसँग रमाउँदै जीवनको अनन्त बाटो पहिल्याउन लाग्नु पर्छ भन्ने मेरो धारणालाई सबै बन्धुहरुले अनुमोदन गर्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको
उपस्थित महानुभावहरु ! म विषयको अन्तिम चरणमा छुः
साङ्गठनिक गतिविधि, भावी कार्यक्रम तथा वित्तीय विवरणको विस्तृत जानकारी महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा समेटिएर सभामा आउने नै छ। यसलाई पुनरावृत्ति गरेर सभाको महत्त्वपूर्ण समय व्यतित गर्न चाहन्न। यो सामाजिक संस्थामा कसैको हार हुदैन्, यसमा जित मात्र सुनिश्चित हुन्छ। सबै बन्धुहरुले मनलाई फराकिलो बनाउन सकौं, हाम्रो निरन्तर प्रयासले आगामी दिनमा ऐतिहासिक धरोहर निर्माण हुनेछ। "एक थुकी सुकी सय थुकी नदी" भन्ने आहनलाई अझै पनि यथार्थमा उतार्न सकेका छैनौं। संसारभरीका सिटौलाहरुको आर्थिक हैसियतका आधारमा गत साल जग्गा खरिदमा अत्यन्तै न्यून प्रतिशत सिटौला बन्धुहरु सहभागी बन्नु भएको छ। यो सहभागितालाई साठी प्रतिशत भन्दा माथि पुर्याउन सकेको खण्ड मात्रै हाम्रो अभियान सिटौला बन्धुहरुको एकताको प्रतिक बन्न सफल हुनेछ।
अन्त्यमा, संस्थाको अग्रगमनका लागि समर्पित आदरणीय अग्रजहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु, मानार्थ सदस्यज्यूहरु एवं समस्त बन्धुबान्धव, चलिवेटी, ज्वाईंचेला, भान्जाभान्जी, नातागोता, कुलकुटुम्ब सबैलाई हार्दिक धन्यवात ज्ञापन गर्दै यो सम्क्षिप्त प् रतिवेदन यही अन्त्य गर्ने अनुमति चाहन्छु।
धन्यवाद
डा. सुरेन्द्र कुमार सिटौला
अध्यक्ष
सिटौला सेवा समाज नेपाल
२०८२ साल, जेठ १० गते, शनिबार