महासचिवको प्रतिवेदन 2082-2-10

सिटौला सेवा समाज नेपालको सातौं अधिवेशन एवं तेह्रौं वार्षिक साधारण सभामा प्रस्तुत

महासचिवको प्रतिवेदन

यस साधारण सभाका सभाअध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, पूर्वअध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, अतिथिगण, आजीवन सदस्यज्यूहरु, सामाजिक संजालका माध्यमबाट प्रत्यक्ष प्रषारण मार्फत स्वदेश तथा विदेशमा रहेर यस कार्यक्रममा सहभागिता जनाउनु हुने बन्धुहरु, सभामा उपस्थित मेरा मान्यजन तथा आदरणीय बन्धुहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु साथै उपस्थित सम्पूर्ण सदस्य महानुभावहरु,

सिटौला सेवा समाज नेपालको यस वार्षिक साधारण सभालाई सार्थकता दिन र समाजको अग्रगमानमा साथ दिन साथै यस गरिमामय सभाको उच्च सम्मान गर्न आजको पुरा दिन समाजको सभालाई समर्पण गरेर आफ्नो आजको सातौं अधिवेशन तथा तेह्रौं साधारण सभामा तपाईंहरूको सक्रिय सहभागिता र समाजप्रतिको समर्पण प्रति गहिरो आभार प्रकट गर्दै यहाँहरु सबैलाई हार्दिक स्वागत एवं अभिवादन गर्दछु।

उपस्थित सबैमा हार्दिक अभिवादन !

यस समाजलाई एक संगठित संस्थाको रुपमा अघि बढाउन यहाँहरुले प्रदान गर्नुभएको अमूल्य समय, ऐक्यवद्धता, हौसला, सहयोग र समर्थनलाई यस कार्यसमितिले प्रेरणाको रुपमा ग्रहण गरी आफ्ना कार्यहरुलाई निरन्तर रुपमा अघि बढाउँन इमान्दार प्रयास जारी राखेको कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु। यसले सामुहिक कार्य सम्पन्न गर्न हामीलाई सहज भएको छ साथै थप योजना एवं कार्यक्रम बनाएर अरु काम गर्न हामीलाई आशा, भरोसा र विश्वास पैदा गरेको छ।

संगठनात्मक रुपमा सिटौला सेवा समाज नेपाल धेरै सबल भैसकेको छ। सूचना र संञ्चारमा भएको द्रूत विकास साथै बन्धुहरुमा आएको जागरणले छोटो समयमा अकल्पनीय रुपमा हाम्रो समाजको संगठन विस्तार भएको छ। आगामी कार्यसमितिले यसलाई निरन्तरता दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।

जिल्ला शाखाबाट समाजको प्रतिनिधित्व गरी पाल्नु भएका जिल्ला शाखा अध्यक्ष एवं संयोजक साथै सदस्यहरु सांगठानिक रुपमा सहभागी हुनु भई यस ऐतिहाँसिक कार्यक्रममा उपस्थित हुनु भएकोमा यहाँहरु सबैलाई हार्दिकताका साथ विशेष सम्मान गर्दै, यस गरिमामय सभामा स्वागत गर्दछु। सिटौला वंशको बसोबास भएका जिल्लाहरुमा संगठन विस्तार लगायत अन्य क्षेत्रमा समेत राम्रा काम भएका छन्। सिटौला सेवा समाज नेपालको केन्द्रीय कार्यसमिति र मेरो व्यक्तिगत तर्फबाट यहाँहरु सबैले सम्पादन गर्नुभएको कामको उच्च मुल्यांकनका साथ सम्मान गर्दै यहाँहरुलाई धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि यस्ता कार्यहरुले निरन्तरता पाउँने छन् भन्ने विश्वास लिएको छु।

केन्द्रीय संगठनको हैसियतले हामीले प्रवाह गर्ने सेवाहरुमा यथासम्भव एकरुपता कायम गर्न र नेपाल सरकारको नीति नियमको परिधिभित्र रहेर सेवा विस्तार गर्न हामीले आफूलाई नियमन गर्न आवश्यक भएको छ। हाम्रो संस्था र संगठनलाई स्थायित्त्व प्रदान गर्न साथै दीर्घकालसम्म समाज सेवालाई निरन्तरता दिन यसले हामीलाई सहयोग गर्नेछ। समाजको क्षेत्र विस्तारसँगै सृजना भएका चुनौती र अवसरहरुको पहिचान गरी हाम्रो आवश्यकता अनुसार सेवा प्रवाहलाई सहजिकरण गर्ने उद्धेश्यले समाजको विधानमा गर्नुपर्ने केही आवश्यक संशोधन र कार्य-व्यवस्थापन (आर्थिक र प्रशासनिक) विनियमावली तयार गरी लागू गर्न आवश्यकता देखेको छु। अतः सिटौला सेवा समाज नेपालको कार्यव्यवस्थापन विनियमावली निर्माण गर्न र सिटौला सेवा समाज नेपालको विधान, २०६७ संशोधन गरी आ.व. 208२/08३ देखि नै लागू गर्न सिटौला सेवा समाज नेपालको मिति 208२ जेठ ७ गते बसेको केन्द्रिय कार्यसमितिको बैठकले संशोधन नगरी नहुने विषयमा गम्भीर छलफल गरी संशोधन गर्ने निर्णय गरेकाले यस गरिमामय सभा समक्ष जानकारीको लागि हार्दिक अनुरोध गर्दछु।

आदरणीय बन्धूहरु !

अब म आर्थिक वर्ष २०८०/०८१ मा यस सिटौला सेवा समाज नेपालबाट भए गरेका नियमित कार्यहरुको संक्षिप्त विवरण पेश गर्न सभाको अनुमती चाहन्छु :

क) २०८१ साल बैशाख ३ गते, भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८, सिपाडोलमा सिटौला सेवा समाज नेपालले ८ रोपनी १५ आना जग्गा जम्मा रु. २,१३,४७,८०५/- (दुई करोड तेह्र लाख सत्चालिस हजार आठ सय पाँच रुपैयाँ) मा खरिद गरिएको छ। उक्त जम्मा खरिद रकम मध्ये जग्गाधनीलाई रु.२,००,००,0००/- (दुई करोड रुपैयाँ) भूक्तानी गरिएको छ र उक्त जग्गा खरिद गर्दा लाग्ने सरकारी राजस्व समेत अन्य खर्च रु. १३,४७,८०५/- (तेह्र लाख सत्चालिस हजार आठ सय पाँच रुपैयाँ) मा खरिद कार्य सम्पन्न भएको छ।

ख) नीलकृष्ण-यशोदा सिटौला फाउण्डेशनका संरक्षक तथा सिटौला समाज उत्तर अमेरिकाका अध्यक्ष, श्री ईश्वरकान्त सिटौलाज्यूले सिटौला परिवारका मेधावी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै यस समाज मार्फत छात्रवृत्ति प्रदान गर्न अत्यन्तै सराहनीय कार्यको घोषणा गर्नु भएको छ। उहाँले घोषणा गर्नुभएको हो।यस छात्रवृत्तिको कार्यविधि सम्बन्धित संस्था स्वयंले निर्धारण गर्नेछ, र यसले आगामी दिनमा विद्यार्थीहरूलाई प्रोत्साहन र प्रेरणा दिने छ भन्ने हामीले विश्वास लिईएको छौं।

ग) गत आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यसमितिको बैठक १६ पटक बसी आवश्यक छलफल र विभिन्न निर्णय गरियो।

घ) सिटौला वंशावलीलाई अनलाइन गरी sitaula.bansha.org नाम गरेको वेवसाइटमा राख्‍ने कार्य सम्पन्न भएको छ। संसारको जुनसुकै ठाऊँमा बसेका बन्धुहरुले यस साइटमा गएर आफ्नो नाम आफै प्रविष्ट गर्न, थपघट वा सच्याउन सक्नु हुनेछ। वंशावलीमा छुटेका नाम र २०७० साल पछि विवाह भएर आएका बुहारी साथै त्यसपछि जन्मिएका सिटौला वंशका सन्तानहरुको अभिलेख अध्यावधिक गरी वंशावली पुस्तक अभिलेखको लागि यथासिघ्र प्रकाशन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।

ङ) मिति २०८० साल भाद्र ३० गते शनिबारका दिन बसेको कार्यसमितिको बैठकले तेह्रथु जिल्ला, चुहानडाँडा जन्म भई हाल का.म.न.पा.-५, हाँडीगाऊँमा स्थायी बसोबास भएका स्वर्गीय बलभद्र सिटौलाका नाती, स्व. विष्णुप्रसाद सिटौला एवं स्व.बसुदेवी सिटौला (थपलिया) का जेष्ठ सुपुत्र, सिटौला वंश पिडी नं. ११ का श्री सुदर्शन सिटौलाज्यूले आफ्नी ममतामयी आमाको नाममा रु.१,४७,520/- (एक लाख सत्चालिस हजार पाँच सय वीस) जम्मा गरी सिटौला सेवा कोष को सुरुवात गर्नुभएकोमा वहाँलाई धन्यवाद व्यक्त गर्दछौं। साथै सबै बन्धहरुलाई यस कोषमा आवद्ध हुन हार्दिक आह्वान गर्दछु।

च) स्व. बेदाचार सिटौलाका नाती, स्व. रघुनन्दन+जानुका उप्रेती सिटौलाका छोरा, पिँडी नं. १२, का श्री छविरमण सिटौलाले आफ्ना मातापिताका नाममा "जानुका-रघुनन्दन कोष" मा रु. दश लाख एघार हजार जम्मा गरी समाज सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा वहाँ श्री छविरमण सिटौला प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

छ) विगतमा झै यस वर्ष पनि सिटौला बन्धु भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गरियो, जसमार्फत एक-अर्कासँग आत्मीयता साटासाट गर्ने अवसर प्राप्त भयो। यस्तो कार्यक्रमले पारिवारिक एकता र समृद्ध सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग पुगेको छ।

ज) तनहुँ जिल्ला देवघाट स्थित बदरिनारायण मन्दिरमा पूजा खर्चको लागि विगत वर्षहरु झै जम्मा रु. १२००० बाह्र हजार प्रदान रिदैआएको छ। यसलाई आगामी कार्यसमितिले निरन्तरता दिने कुरामा म विश्वस्त छु।

झ) विगत वर्ष झै यस वर्ष पनि मा.तु.सा. अक्षय कोषको व्याजबाट सिटौला सेवा समाज नेपाल परिवारका जेष्ठ आमा बुबाहरुलाई दोसल्ला ओढाई आज यही वार्षिक साधारण सभामा सम्मान गरिने छ।

ञ) आर्थिक रुपले कम्जोर सिटौला बन्धुहरु, मृगौला रोगी, क्यान्सर पिडित लागायत अन्य विभिन्‍न क्षेत्रमा समाजले यथासक्य सहयोग गर्दै आएको छ।

ट) विगत वर्षहरूझैं, यस वर्ष पनि समाजको तर्फबाट क्यालेन्डर प्रकाशित गरि वितरण गरिएको छ।

सिटौला सेवा समाज नेपालले विगत लामो समयदेखि छलफल र बहस गर्दै आएको घरजग्गा व्यवस्थापन अन्तर्गत जग्गा खरिद गर्ने महत्त्वपूर्ण कार्य सम्पन्न भएको जानकारी यस गरिमामय सभा मार्फत सहभागी दाताहरु एवं सम्पूर्ण सिटौला बन्धु प्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछु। यस कार्यकालमा समाजले गरेका विभिन्न क्रियाकलापहरूमा सबै सदस्यहरूको सहयोग प्राप्त भएको छ। यस कार्यले संसारभरीका सिटौला बन्धुहरु गौरवान्वित भैरहदा समाजको सिंङ्गो कार्यसमिति हर्षित छ। यस ऐतिहाँसिक महानकार्यको थालनी गर्न संसारभरबाट प्राप्त सहयोगलाई उच्च सम्मानका साथ समाजले ग्रहण गरेको छ। जग्गा खरिद गर्नका लागि सहभागी दाताहरुलाई आह्वान गर्दा समाजले गरेका प्रतिवद्धताहरुलाई पुरा गरिनेछ साथै आज बन्ने कार्यसमितिले पनि हाम्रो प्रतिवद्धताको सम्मान गर्नेछ भनी यस सम्मानित सभा समक्ष प्रस्ताव पेश गर्दछु।

यस गरिमामय सभामा उपस्थित बन्धुहरु !

विगत वर्ष हाम्रो समाजको लागि हर्ष र विस्मात दुवै मडारिएर आएका छन्। सिटौला सेवा समाज नेपाल, झापा शाखा प्रचलित कानुन र विधान विपरित जिल्ला प्रशासन कार्यालय, झापामा संस्था दर्दा गरेर उक्त संस्थाको चलअचल सम्पत्ति कब्जा गरी नयाँ संस्थामा सारिएको कारण कानुनी अड्चन समेत फुकाउनु पर्ने भएकोले समाजले आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौमा पत्राचार गरी अधिवेशन एवं वार्षिक साधारण सभा गर्न अनुमतिको लागि प्रत्राचार गरिएको छ। सोही आधारमा झापा शाखा अन्तर्गत विगत आर्थिक वर्षमा केन्द्रीय लेखापरिक्षणमा समावेश भएको रकमलाई कैफियत जनाई अधिवेशन एवं वार्षिक साधारण सभा हुन गएको विषय यस सम्मानित सभा समक्ष अनुमोदनको लागि पेश गर्दछु।

उपस्थित महानुभावहरु हाम्रो सहभागी दाता सम्मान कार्यक्रमले हाम्रो धेरै समय लिनेछ। अध्यक्षज्यूको प्रतिवेदनमा उल्लेखित नीति तथा कार्यकमलाई सुक्ष्मरुपमा छलफल अध्ययन गरी आगामी कार्यसमितिले कायान्वयन गर्नेछ भन्ने विश्वास लिएको छु।

संस्थालाई अग्रगमन तर्फ उन्मुख हुन केवल व्यक्ति वा कार्यसमिति अग्रसर भएर मात्र पुग्दो रहेनछ, यसमा सबै बन्धुहरुको सहभागीता एवं ऐक्यवद्धता हुन आवश्यक देखिन्छ। त्यसैले हरेक सदस्यको सहभागिता, सहयोग, सल्लाह सुझाव र कार्य-प्रतिवद्धताले मात्र संस्था बलियो साथै चीरस्थायी हुन्छ। त्यसैले सम्पूर्ण बन्धुहरुको सकृय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु।

यस संस्थाको आ.व. 20८०/0८१ को आर्थिक गतिविधि तथा आय-व्ययको विवरण कोषाध्यक्षज्यूको प्रतिवेदनबाट स्पष्ट हुने नै छ। आर्थिक रुपले समाजलाई सक्षम गराउन र आगामी वर्षको कार्यक्रमलाई अग्रता दिन यहाँहरु सबैबाट विशेष सहयोग रहने कुरामा आशा एवं विश्वास लिएको छु।

सिटौला सेवा समाज नेपालको बैठक संचालन, पुस्तक भण्डारण तथा अन्य कार्यक्रम सन्चालनमा यस बागमती बोर्डिङ्ग स्कूल तथा कलेज एवं विद्यालय व्यवस्थापन परिवारबाट भईआएको सहयोगको लागि सिटौला सेवा समाज नेपाल र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु।

अन्त्यमा, संस्थाको उन्नति र प्रगतिका लागि पूर्ण रुपमा समर्पित आदरणीय पूर्व-अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु, समितिका पदाधिकारी एवं सदस्यज्यूहरु, तथा अग्रज बन्धुहरु, चेलीवेटी, भान्जाभान्जी, कुलकुटुम्ब, सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यो सम्क्षिप्त प्रतिवेदन यही अन्त्य गर्ने अनुमती चाहन्छु। धन्यवाद

प्रतिवेदन प्रस्तोता

हरिप्रसाद सिटौला

महासचिव

सिटौला सेवा समाज नेपाल

20८2 साल, जेठ १० गते, शनिबार