काठको बाकस
पराइ मरुभूमिबाट
हवाई जहाजमा ल्याइएको
त्यो काठको बाकस हो
बाकस भित्र
अवैध सुन छैन
महँगा रक्सीहरु छैनन्
त्यहाँ तुहिएको सपना छ
सपना सँगै
चुहिएको विपना छ
त्यहाँ भित्र
जवानी मै मरेको
पसिनाको आश छ
आशा आफू भित्रै लुकाएर
मातृभूमिमा शरणागत हुन आएको
एक धरती पुत्रको लाश छ
सँगै आएका हवाई यात्री
सबै स्तब्ध थिए
स्वागत गर्न आएका आफन्तहरु
सबै नि:शब्द थिए
स्वागतमा फूलमाला थिएन
स्वागतार्थ केवल
अर्धाङ्गिनीको कारुणिक चित्कार थियो
चित्कार भित्र
दुखान्त आवेगको प्रवेग थियो
कारुणिक चित्कारको गहिराइमा
ह्वार-ह्वार्ती जल्दै गरेको
नाबालक सन्तानहरुको
सपनाको झुपडी थियो
रेमिट्यान्समा रमाएको
निर्लज्ज सत्ताको अभिमान सँग
हारेको देशको स्वाभिमान थियो
पौरखी सन्तानहरुको
मेरो देश देश सधैं गुणगान गाउँछ
जब ऊ
आफ्नै नागरिकहरुलाई
विदेशी श्रमबजारमा पठाउँछ
अनि हर्षोल्लास साथ
देशमुक्तिको उत्सव मनाउँछ
बिदाइ गर्छ
भिराएर मुटुभरि उल्लास र आशाको माला
अनि गलाभरि फूलमाला
अनायास !
एक्लै फर्केर जब ऊ
काठको बाकसमा आउँछ
उसको लाश देशलाई खपिनसक्नु गन्हाउँछ
उसको स्वागतार्थ
एयरपोर्टमा देश उपस्थित हुँदैन
उसको मृत्युले देशलाई
कहीँ कतै छुँदैन
त्यसैले ए ! प्रहरी भाइहरु हो
नजाच्नु त्यो काठको बाकस
त्यहाँ भित्र बहुमुल्य अवैध वस्तु
केही पनि छैन
त्यहाँ भित्र फगत
देशको मरिसकेको आश छ
अनि तिमी जस्तै
नौजवान नागरिकको लाश छ
ऊ सीधैं यहाँबाट आर्यघाट जानेछ
गुहारेर थोरै मलामी
टक्र्याउन बाँकी छ उसले अझै
चीता बाटै
देशलाई कृतज्ञताको अन्तिम सलामी