सिटौला वंशावलीको द्वितीय संस्करणमा श्री जनार्दन सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

निकै लामो अन्तराल पछि सिटौला वंशावलीको दोस्रो संस्करण यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा धेरै हर्ष लागेको छ। २०४८ सालमा पहिलो पटक प्रकाशन भएको वंशावलीले २०७० सालमा आएर आफ्नो कलेवर फेर्न सफल भएको छ। वंशावलीको प्रथम संस्करण एक ऐतिहासिक दस्तावेज भएकोले यसमा रहेका महत्त्वपूर्ण लेखोटहरुलाई जस्ताको तस्तै यस संस्करणमा उतार गरिएको व्यहोरा अनुरोध गर्दछु।

धेरै लामो अवधिसम्म बन्धु भेलाको रुपमा भेला भई बन्धुत्त्वलाई नजिक र प्रगाढ बनाउने क्रममा काठमाण्डौंमा बसोवास गर्ने बन्धत्वहरुबाट अमूल्य कार्यहरु भएका छन्। अनौपचारिक भेला, छलफल तथा अन्तर क्रियात्मक कार्यहरु गर्दागर्दै संस्थागत रुपमा सिटौला समाजलाई स्थापित गर्ने निर्णय भईसकेपछि २०६८ सालमा विधिवत रुपमा सिटौला सेवा समाज नेपाल नामाकरण गरी जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा संस्था दर्ता ऐन अन्तर्गत यो समाज दर्ता गरिएको छ। यसपछि संस्थाले विधिवत रुपमा आफ्ना कार्यहरु अघि बढाउँदै आएको छ। संस्थालाई यहाँसम्म ल्याई पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने सबै पूर्व संस्थापक महानुभावहरु धन्यवादका पात्र हुनुहुन्छ। वहाँहरु कै नेतृत्वमा संस्थाले आफ्नो अग्रिम बाटो पहिल्याउन समर्थ भएको छ। संस्था अनौपचारिक रहेकै अवस्थादेखि सिटौला वंशावली दोस्रो संस्करण छपाईको योजना सञ्‍चालन भएको हो। सिटौला वंशको वंशावली संकलनकर्ता स्व. मास्टर तुलसी प्रसाद सिटौलाका जेष्ठ सुपुत्र श्री टिकाप्रसाद सिटौलाले वंशावली अध्यावधिक गर्ने तत्परता देखाई बन्धुबान्धव बसोबास गरेका विभिन्न स्थानमा पुगी वंशावली संग्रह गरी तत्सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नु भएको छ। वहाँको निरन्तर लगाव प्रति सिटौला सेवा समाज नेपाल हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ।

सिटौला सेवा समाज नेपालबाट संग्रहित वंशावलीलाई प्रकाशन गर्ने महत्त्वपूर्ण अभिभारा प्रथम संस्करणका प्रकाशक स्व. पदमलाल सिटौलाका सुपुत्र श्री पी.पी. सिटौलाले ग्रहण गरी मुद्रणको समेत सम्पूर्ण दायित्व लिईदिनु भएकोमा वहाँ प्रति सिटौला सेवा समाज नेपाल कृतज्ञता प्रकट गर्दछ। वंशावलीको प्रकाशन र छपाई जस्ता दायित्वपूर्ण कार्यको अभिभारा ग्रहण गरिदिनु भएकोमा वहाँको दानशीलता प्रति हार्दिक धन्यवाद अर्पण गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।

वंशावली संग्रह तथा अध्यावधिक गर्ने कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण बन्धुहरु, वेवसाइट डिजाइन र निर्माणमा लागेका बन्धुहरु तथा यी कार्य पूरा गर्न लागि परेका सम्पूर्ण सिटौला सेवा समाज नेपालका पदाधिकारी, सदस्य महानुभाव र सल्लाहकार समितिका आदरणीय महानुभावहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। त्यस्तै भाषिक शुद्धाशुद्धिमा संलग्न हुनुहुने बन्धु कृष्णप्रसाद सिटौलालाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

प्राप्त हुन सकेसम्मका फोटा (तस्विर) हरु वंशावलीमा समावेश गरिएका छन्। भरसक सबैका तस्विरहरु यसमा रहन सकून भन्ने उद्धेश्यका साथ संकलन गर्ने प्रयास गरी सूचना समेत सम्प्रेषण गरिएको हो। समयमा प्राप्त भएका तस्विरहरु भरसक यथास्थानमा राख्ने प्रयत्न भएको छ। उचित विवरणको कमी वा एकै नामका कारणले कतैकेही तलमाथि पनि परेको हुन सक्छ। त्यस्तै यस वंशावलीमा कहीँकतै छुटपुट वा अशुद्धि हुन सक्छन्, कति तथ्यांकहरु प्राप्त नभएर छुट भएको हुन सक्छ, छुट वा त्रुटी भएमा क्षमा याचाना गर्दै आगामी प्रकाशनमा पूरा गरिने तथा सच्याईने प्रतिवद्धाता व्यक्त गर्दछौं। छुट विवरण, तस्विरहरु तथा पछि जन्मिएका परिवारका सदस्यहरुको विवरण अद्यावधिक गर्ने व्यवस्था वेवसाइटमा गरिएको व्यहोरा समेत अनुरोध गर्दछौं।

अन्तमा २०७० सालको शुभ उपलक्ष्यमा सम्पूर्ण बन्धुबान्धवहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, पुनः वंशावली प्रथम संस्करणका संकलनकर्ता, अनुसन्धानकर्ता, संग्रहकर्ता, सम्पादक, प्रकाशक सबै अग्रजहरु प्रति आभार एवं कृतज्ञता प्रकट गर्दै यो संक्षिप्त लेखोट अन्त्य गर्दछु।

सबैको कल्याण होस् !!!

जनार्दन सिटौला

अध्यक्ष

सिटौला सेवा समाज नेपाल

वि. सं. २०७०