Introduction

परिचय

सिटौला वंशका वंशावली संकलक आदरणीय स्व. मास्टर तुलसी प्रसाद सिटौला तत्कालिन निघुरादिन गाउँ विकास समिति वडा नं., ताप्लेजुङमा विक्रम संवत् १९७८ असार ३ गते बिहीवार बाबु परमानन्द र आमा कृष्णमाया थपलिया (नवौं पीढी) का माइला सुपुत्रको रूपमा जन्मनुभएको थियो। धेरै दुःख कष्ट गरेर संकलन गरिएको सिटौला वंशावली, वहाँ कै शब्दमा मैले पहिला देखिनै संकलन गरिराखेको सिटौला वंशावली बन्धु बान्धवहरूबाट प्रकाशन गर्ने जमर्को भएपछि मेरा सहस्रौँ परिश्रम मध्ये एउटा मात्र मैले सार्थक परिश्रम गरेको रहेछु, जसको ढिलैभए पनि मूल्यांकन गरिएकोमा म ज्यादै हर्षविभोर भएको छुभन्‍नु भएको छ। वहाँले गरेका धेरै सामाजिक कार्यहरु मध्ये यो वंशावली संकलन सम्बन्धी कार्यलाई एउटा महत्त्वपूर्ण उपलब्धीको रुपमा वहाँ स्वयंले स्वीकार गर्नुभएको छ। वहाँ कै मेहनत र परिश्रमले हामी सिटौला परिवारले नाता-सम्बन्ध पाएका छौं। परिणामतः सबै बन्धुहरु बीच भातृत्व र एकता कायम भएको छ। सिटौला वंशावली संकलन गर्न लगभग २० वर्ष लामो समय लागेको थियो। यो कठीन र दूर्गम कार्यका लागि नेपालका पचहत्तर जिल्ला र भारतका अल्मोडा जिल्लाको कुमाउगढ, पूर्वमा आसाम, मणिपुर, लगायत भुटान र वर्मा समेत वहाँ घुम्नुभएको भएको छ। सिटौला वंशको वंशावली अभिलेख २०४८ साल चैत्र २९ गते रामनवमीका दिन माइनदिको किनारमा सप्ताह पूराण समेत सम्पन्न गराई मेरो हातबाट वंशावली विमोचन गर्ने शुभ अवसर मलाई दिएकोमा पुनः म बन्धुबान्धव प्रति कृतज्ञ छु भन्नु भएको छ। वंशावली संकलन गर्ने सिलसिलामा कतै कोही नछुटोस भनी हरसम्भव प्रयास गरेको पाइन्छ। लगभग तीनचार सय वर्षको अन्तरालमा पहिलो पटक वंशावली संकलन गर्ने कार्य चुनौतीपूर्ण त थियो नै साथसाथै यो कार्य त्यति नै अपजसपूर्ण पनि थियो। यसका वावजुत सम्पूर्ण जस-अपजसलाई स्वीकार गरेर वहाँले यो महानकार्यको थालनी गर्नुभएको थियो। स्व. मास्टर तुलसी प्रसाद सिटौलाको साहस र दृढ अठोटको परिणाम स्वरुप हामीले यो सिटौला वंशावली प्राप्‍त गरेको छौं। सिटौला परिवारका प्रत्येक सदस्य वहाँका ऋणी छौं। सिटौला वंशको एकताको प्रतिकको रुपमा वहाँलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हुनेछ।

बाबु बेदाचार र आमा हिमादेवी चुडाल सिटौला (दशौं पिँढी) का सुपुत्र श्री लक्ष्मीप्रसाद (एल. पि.) सिटौलाले वंशावलीलाई पहिलो पटक लिपीवद्ध गर्न सम्योजनकारी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पाइन्छ। वंशावली संकलन भएको धेरै समयसम्म छपाई हुन नसकी पाण्डुलिपीलाई कसरी सुरक्षित राख्‍न सकिन्छ भन्ने अवस्थामा एल. पि. सिटौलाले वंशावली छपाउन वातावरण तयार गर्नुभएको पाइन्छ। वि. सं. २०४८ भाद्र १९ गते वंशावली छपाईको विषय छलफलमा ल्याईएको थियो। सोही वर्ष २०४८ चैत्र २९ गते रामनवमीको दिन वंशावली विमोचन हुनुमा वहाँको महत्त्वपूर्ण योगदान देखिन्छ। पदमलाल सिटौलाले वंशावली पहिलो संस्करण वि.सं. २०४८ को आफ्नो मन्तव्यमा एल. पि. सिटौला र के. पि. सिटौलाको प्रसंशा गर्दै यसरी भन्नुभएको छः संकलित वंशावलीलाई परिमार्जन गरी सबैले बुझ्ने तुल्याउन र छुट्न गएका नयाँ पुस्ताका नामावली समेत समेट्ने कार्यमा ज्यादै सक्रिय भई संलग्न रहने श्री एल. पि. सिटौला तथा श्री के. पि. सिटौला दुवैप्रति कृतज्ञता ज्ञापन गर्दछु। यसबाट सिटौला पिँढी नं. १० गंगा प्रसाद (सैमान) सिटौलाका जेष्ठ सुपुत्र श्री के. पि. सिटौलाको पहिलो वंशावली छपाई तथा परिमार्जन कार्यमा महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। यस संस्करणमा श्री के.पि. सिटौलाज्यूले सम्पादकको भूमिका निर्वाह गर्नुभएको छ।

ब्रह्मलाल (नवौं पिँढी) का नाति, राधाकृष्ण र राधिकादेवी ओलीका एक मात्र छोरा स्व. पदमलाल सिटौलाले सिटौला वंशको पहिलो वंशावली छपाई कार्यको सम्पूर्ण जिम्मेवारी लिई सिटौला परिवारका प्रत्येक सदस्यलाई ठूलो गुण लगाउनु भएको छ। सिटौला वंशावली दोस्रो संकरण, २०७० पनि वहाँका माइला सुपुत्र स्व. पुण्यप्रसाद (पि. पि.) सिटौला र कान्छा सुपुत्र श्री पुष्पकुमार सिटौलाले सम्पूर्ण खर्च व्यहोरेर आफ्ना पिताको नाममा छपाई कार्य गर्नुभएको छ। वहाँहरु सिटौला वंशका सम्मानित व्यक्तित्त्व हुनुहुन्छ।

विक्रम संवत् २०६७ मा सिटौला सेवा समाज नेपालको विधिवत स्थापना कै सेरोफेरोमा वंशावलीको द्वितीय संस्करणले गति लिएको पाइन्छ। सिटौला सेवा समाज नेपालका तत्कालिन अध्यक्ष तथा आदरणीय व्यक्तित्त्व श्री जनार्दन सिटौला (एघारौं पिँढी) ले उक्त कार्यको नेत्रित्त्व गर्नुभएको थियो। सिटौला वंशको वंशावली खोज र परिमार्जन कार्यले हरेक पटक नयाँ इतिहास कायम गर्दै आएको छ। पहिलो वंशावलीमा छोराहरुको मात्रै नामावली समावेश गरिएको थियो। वंशावलीको द्वितीय संस्करणमा बुहारी र छोरीलाई पनि समावेश गरियो। द्वितीय संस्करणको अर्को प्रमुख विशेषता भनेको वंशावलीमा सम्भव भए सम्म फोटो समावेश गरियो। वंशावलीको द्वितीय संस्करणमा नामावली संकलन गर्न तथा परिमार्जित वंशावली तयार गर्न स्व. मास्टर तुलसी प्रसाद सिटौलाका जेष्‍ठ सुपुत्र श्री टिका प्रसाद सिटौलाको मुख्य भूमिका रह्यो। आफ्ना पिताले पाइला राखेका सबै ठाउँमा पुग्न नसके पनि सिटौला वंन्धुहरुको बसोबास भएको प्रायः सबै ठाऊँमा आफै उपस्थित भै नामावली संकलन गर्नुभएको थियो। जसको फलस्वरुप हामीले ४०० पृष्‍ठको सिटौला वंशावली द्वितीय संस्करण प्राप्‍त गर्न सफल भयौ। वंशावलीको यस संस्करणमा पनि सामान्य त्रुटीहरु रहेका छन्। जसलाई वंशावलीको तेस्रो अनलाइन संस्करणले सच्याउने प्रयत्न गरेको छ। काम गर्ने क्रममा यस्ता त्रुटीहरु अवश्य हुन्छन्, गल्ती कम्जोरीहरुलाई समय क्रमसँगै सुधार गर्दै लैजानु पर्छ। यसैलाई जीवन्त वंशवृक्ष भनिन्छ।

अहिले हामी सिटौला वंशावलीको तेस्रो अनलाइन संस्करणमा छौं। ग्लोवलाइजेशनको कारणले सिटौला वंशका सन्तान पृथ्‍वीको कुन कुनामा कसरी बसेका छन् भनेर अनुमान लगाउन समेत कठीन भएको छ। वर्तमान परिस्थितिमा वंशावली संकलन सम्बन्धी कार्य अत्यन्तै जटील र दुरुह बन्दैगएको छ। यही यथार्थलाई स्वीकार गर्दै सिटौला सेवा समाजका पूर्व अध्यक्ष श्री जनार्दन सिटौलाज्यू कै कार्यकालमा वंशावलीलाई अनलाइन गरिनु पर्छ भनी यो विषयलाई कार्यसमितिमा छलफल गरिएको थियो। यो विशेष प्राविधिक कठिनाईका कारण प्रयोगमा ल्याउन सकिएन्। कामको जटिलता साथै समाजसँग पर्याप्त लगानी र दक्ष प्राविधिकको अभावमा उक्त कार्य अधुरो नै रहेको थियो।

विश्वको जुनसुकै ठाउँमा बसोबास गर्ने सिटौला वंशको सन्तानले हामीसँग कसरी सजिलै प्रत्यक्ष सम्पर्क बनाउन सक्छ ? छोराको विवाह पश्चात बुहारीलाई र उनीहरुबाट जन्मिएका सन्तानलाई कसरी सिटौला वंशावलीमा सजिलै जोड्न सकिन्छ ? भन्ने कुरा सिटौला सेवा समाज नेपालको वर्तमान कार्यसमितिको एउटा महत्त्वपूर्ण छलफलको विषय बनेको थियो। समाजका अध्यक्ष डा. सुरेन्द्र कुमार सिटौलाले गतवर्षको साधारण सभामा पेश गर्नुभएको अध्यक्षको प्रतिवेदनमा समेत यस विषयलाई विशेष महत्त्वका साथ समावेश गर्नुभएको छ। लामो समयदेखि खोज र चिन्तनको विषय बनेको अनलाइन वंशावली सम्बन्धी विषयले समाजका अध्यक्ष डा. सुरेन्द्र कुमार सिटौलाज्यूको कार्यकालमा पूर्णता प्राप्त गर्न सफल भएको छ। यसलाई सफलता पुर्वक लागू गर्न सकियो भने वंशावली संकलन सम्बन्धी जटील कार्य सदाका लागि अन्त्य हुनेछ। वंशावलीको तेस्रो संस्करणले पनि विगतका संस्करणको इतिहासलाई यथावत कायम गर्दै, नयाँ इतिहासको रचना गरेको छ। सिटौला वंशको यस संस्करणमा सिटौला वंशका ज्वाईं र भान्जा भान्जीलाई वंशावलीमा समावेश गरिएको छ। सिटौला वंशकी चेली तर्फको वंशवृक्ष भान्जा भान्जीसम्म सिमित रहनेछ। अब उप्रान्त पृथ्वीको कुनै कुनामा जन्मिएका सिटौला वंशका सन्तान आफू बसोबास गरेकै देश वा स्थानबाट आफ्नो वंशवृक्षमा सरलता पुर्वक सिटौला वंशावलीमा समावेश हुन सक्नेछन्। वंशावलीमा नाम समावेश गर्न र सच्च्याउन अनलाइन वंशावली सम्बन्धी छुट्टै निर्देशिका तयार गरिनेछ। सोही निर्देशिका बमोजिम गर्नुगराउनु हुन यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दछौं।

डिल्ली प्रसाद सिटौला

संयोजक

सिटौला वंशावली अनलाइन संस्करण

सिटौला सेवा समाज नेपाल, काठमाण्डौ