अध्यक्षको प्रतिवेदन २०७८ दशौं साधारण सभा

सिटौला सेवा समाज नेपालको दशौं साधारण सभामा प्रस्तुत

अध्यक्षको प्रतिवेदन

२०७८ साल, माघ २९ गते, शनिबार

यस साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिगण, भर्चुअल माध्यमबाट यस सभामा प्रत्यक्ष रुपमा सहभागी मेरा मान्यजन तथा आदरणीय बन्धुहरु, मेरा कार्यसमितिका पदाधिकारी तथा सदस्य बन्धुहरु र उपस्थित सम्पूर्ण सदस्य महानुभावहरु,

सिटौला सेवा समाज नेपालको यो दशौं साधारण सभालाई सार्थकता दिन र समाजको गरिमा साथै वैभव कायम राख्‍न आफ्ना महत्त्वपूर्ण कामहरु छोडेर यस सभामा सहभागी भईदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक स्वागत एवं अभिवादन गर्दछु। उपस्थित सबैमा हार्दिक अभिवादन।

सिटौला समाजका आदरणीय अग्रजहरुले समाज सेवाको क्षेत्रमा गौरवपूर्ण इतिहास कायम गरेको कुरा हामी सबैमा विधितैछ। उक्त समाज सेवाको नासो पुर्खाहरुले हामीलाई सुम्पिएको कुरालाई यो समाजले आत्मसाथ गरेर अघि बढेको छ। यो समाजलाई एक सबल संगठित संस्थाको रुपमा अघि बढाउन संस्थाको स्थापना कालदेखि मेरो कार्यकालसम्म अमूल्य योगदान दिने पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र सम्पूर्ण बन्धु-बान्धवहरुमा हार्दिक कृतज्ञताका साथ नमन गर्दछु ।

यहाँहरुले प्रदान गर्नु भएको ऐक्यवद्धता, हौसला, सहयोग, समर्थन र मार्गदर्शनलाई यस कार्यसमितिले प्रेरणाको रुपमा ग्रहण गरी संस्थाका कार्यहरुलाई अघि बढाउने प्रण गर्दै अभिछिन्न रुपमा प्रयास गर्ने विश्वास दिलाउन चाहन्छु। विधानमा उल्लेखित उद्धेश्य अनुरुप साधारण सभाले निर्देशन गरे बमोजिमका कार्यहरु स्रोत र साधनले भ्याएसम्म सम्पन्न गर्ने कोशिस गरिएको छ। सबैबाट अपेक्षाकृत, प्रभावकारी र संस्थालाई दूरगामी परिणाम दिने खालका कार्यहरुको सुरुवात गर्न प्रयास गरिए पनि सफलता हासिल गर्न नसकिएको कुरा उपस्थित आदरणीय बन्धुहरु माझ यो कार्यसमितिले स्वीकार गर्नै पर्दछ। यति हुदाहुदै पनि संस्थालाई कसरी बलियो जगमा स्थापित गराउन सकिन्छ भन्ने विषयमा यो कार्यसमिति अविचलित भई इमान्दार प्रयासमा लागिरहेको छ भनी यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु।

उपस्थित महानुभावहरु

यस समाजले पूर्ववत सञ्‍चालन गरिआएका कार्यक्रम तथा यो कार्यसमिति गठन पश्चात सुरुवात गरिएका कार्यक्रम तथा गतिविधिहरु निम्नानुसार बुँदागत रुपमा यस गरिमामय सभा समक्ष राख्‍ने अनुमति माग्दै सबैको ध्यानाकर्षण हुन बिनम्र अनुरोध गर्दछुः

(क) विगतका कार्यसमितिले गरिआएका सबै नीति तथा कार्यक्रमहरुलाई यो कार्यसमितिले आत्मसाथ गरी निरन्तरता दिई आएको छ र आगामी दिनमा पनि निरन्तरता दिने यहाँहरु समक्ष प्रतिवद्धता व्यक्त गर्दछु।

(ख) पूर्व अध्यक्ष श्री मोहन प्रकाश सिटौलाज्यूको अगुवाईमा सुरुवात गरिएको अक्षय कोषलाई महत्त्व र प्राथमिकताका साथ निरन्तरता दिईने छ। कोषलाई संञ्‍चालन गर्न निर्माण गरिएको विनियमावलीलाई वैधानिकता दिई तत्काल लागू गरिने छ।

(ग) कोभिड लगायत अन्य कारणबाट रोकिएका संस्थाका कतिपय कार्यहरुलाई यो कार्यसमितिले यथासिघ्र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

(घ) मृगौला रोगी, क्यान्सर पिडित, उच्चशिक्षा लागायत अन्य विभिन्‍न क्षेत्रमा समाजले यथासक्य सहयोग गर्दै आएको छ। सिमित स्रोत, साधन र वित्तीय अवस्थाको कारणले विगतदेखि नै सेवाको क्षेत्र खुम्चिएको कुरा हामी सबैमा विधितै छ। यस विषयमा आगामी दिनमा समाज सेवाको क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न सुझावको लागि यस गरिमामय सभा समक्ष मार्ग निर्देशन होस भनी अनुरोध गर्दछु।

(ङ) समाजको मूल उद्धेश्य समाज सेवा (CHARITY) नै हो, यसमा सबै बन्धु-वान्धवहरु विश्वस्त हुन हार्दिक आग्रह गर्दछु। यो समाज सेवा (CHARITY) मै केन्द्रित भएर स्थापना भएको थियो, समाज सेवामा नै किन्द्रित छ र भविष्यमा अझ सवल अनि सशक्त भएर समाज सेवामा समर्पित हुँने कुरामा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु। यति हुदाहुदै पनि संस्थालाई स्थायित्त्व प्रदान गर्न र सबैको विश्वास जित्‍न, संस्थालाई परिचित गराउन स्थायी ठेगाना दिनुपर्छ भन्ने अधिकाम्स बन्धुहरुको भावनालाई सम्बोधन गर्न गतवर्ष घरजग्गा व्यवस्थापन उपसमिति गठन गरी यसको एउटा छुट्टै कोष खडा गरिएको छ। म लगायत कार्यसमितिका अधिकांस सदस्यहरुले आ-आफ्नो क्षमता र आर्थिक हैसियत अनुसार यस महत्त्वपूर्ण अभियानमा सहभागी हुनु भएको छ। यो समाजको उत्साहवर्दक, चुनौतीपूर्ण र महत्त्वकांक्षी कार्यक्रम हो। यसलाई सफल बनाउन देश विदेशमा रहनु भएका सबै बन्धु-बान्धवको स्वतःस्फूर्त सहभागिता हुनुपर्छ भन्ने विश्वास गरेको छु। यसलाई वर्तमान कार्यसमितिले महत्त्वका साथ एक सूत्रीय कार्यक्रमको रुपमा स्वीकार गरेको छ।अतः यस गरिमामय सभा मार्फत संसार भर छरिएर बस्नु भएका बन्धु-वान्धवहरुलाई समाजको यस महानकार्यलाई सफल पार्न यथासक्य सहयोगको लागि हार्दिक आह्वाहन गर्दछु।

उपस्थित महानुभावहरु,

संस्थालाई अग्रता प्रदान गर्न केवल व्यक्ति वा कार्यसमिति अग्रसर भएर मात्र हुँदैन, सबैको उत्साहजनक सहभागिता नै मूल कुरा हो। त्यसैले हरेक सदस्यको सहभागिता, सहयोग, सुझाव र सकारात्मक निर्देशन प्राप्‍त भयो भने संस्था बलियो र चीरस्थायी हुनेछ समाजलाई जिवन्त राख्‍न संस्थाको भविश्यको कार्यदिशा सु-निश्चित हुनुपर्दछ। यस समाजले पनि आगामी दिनमा के के कार्य गर्दा उपयुक्त होला भनी प्राथमिकता क्रमको आधारमा सभाको राय-सुझाव र आवश्यक निर्देशनको लागि देहायका विषयहरु छलफलको लागि पेश गरेको छु। साथै यसका अतिरिक्त अन्य विषय भए सो समेत समावेस गरिदिनु हुन गरिमामय सभालाई हार्दिक अनुरोध गर्दछु।

(क) देश-विदेशमा रहेका सबै सिटौला बन्धुहरुको यथार्थ तथ्याङ्क सङ्कलन गर्ने,

(ख) वंशावलीको निरन्तरताका लागि एउटा सरल Software App निर्माण गर्ने,

(ग) गरिवी तथा विपन्‍न परिवारलाई लक्षित गरी, जेहन्दार तथा प्रतिभावान सन्तानलाई उच्च-शिक्षाको अवसर प्रदान गर्ने,

(घ) आर्थिक विपन्नता वा विदेश पलायन वा अन्य कारणले अलपत्रमा परेका समाजका असक्त बालबालिका तथा वृद्ध-वृद्धाहरुको उचित स्याहार-सुसारका लागि आवश्यक व्यवस्थापन गर्ने

उपस्थित महानुभावहरु, म विषयको अन्त्यमा छु।

साङ्गठनिक गतिविधि, कार्यक्रम तथा वित्तीय विवरणको विस्तृत जानकारी महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा समेटिएको छ। म यसलाई पुनरावृत्ति गरेर सभाको महत्त्वपूर्ण समय व्यतित गर्न चाहन्न।

सर्वजन हिताय सर्वजन सुखाय को मूल उद्धेश्यले गठन भएको यो संस्था हामी सबैको हितमा केन्द्रित छ। हाम्रो पारिवारिक हित सँगै विकसित भएको समाज सेवाको यात्रा पारिवारिक दायरालाई चिरेर सामाजिक सेवामा पुग्नुपर्छ भन्‍ने हाम्रो अन्तिम लक्ष्य हो। भाषणमा भन्दा काममा हाम्रो ध्यान केन्द्रित गर्न सक्यौं भने असम्भव भन्ने विषय केही छैन्। एक थुकी सुकी सय थुकी नदी भन्‍ने आहानलाई हामीले यथार्थमा उतार्न सक्नु पर्दछ। मलाई विश्वास छ, हामी अवश्य सफल हुन्छौं।

अन्त्यमा, संस्थाको अग्रगमनका लागि आदरणीय अग्रजहरु, सल्लाहकारहरु, आजीवन तथा साधारण सदस्यहरु, मानार्थ सदस्यहरु एवं समस्त बन्धु-वान्धव, चेलीवेटी, नातागोता, कुलकुटुम्ब, सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यो सम्क्षिप्त प्रतिवेदन यही अन्त्य गर्ने अनुमती चाहन्छु ।

सम्पूर्ण बन्धुहरुमा नमन !!!

डा. सुरेन्द्र कुमार सिटौला

अध्यक्ष

सिटौला सेवा समाज नेपाल

दाजुभाइ भनेको टाढा नजिकको हुँदैन, यथार्थमा दाजुभाइ भनेको नजिक कै मात्र हुन्छ र एकै हुन्छ

मास्टर तुलसी प्रसाद सिटौला