सिटौला वंशावली पहिलो संस्करणका प्रकाशक स्व. पदमलाल सिटौलाज्यूको मन्तव्य

प्रकाशकीय

वंशावली इतिहासको सदैव आधारभूमी रहेको देखिन्छ। मानिसमा चेतना र कुनै कुरा देख्‍न सक्ने क्षमता भएपछि उसले आफ्नो इतिहास, धर्म, साहित्य, संस्कृति र परम्परालाई एउटा धरोहरको रुपमा स्थापित गर्नुपर्दछ र त्यो स्थापित मूल्यको आधारमा समाज सापेक्ष युग सापेक्ष मानव जीवनलाई समुन्नत र सुगम तुल्याउने चेष्ठा प्रचेष्ठाहरु गर्नुपर्दछ भन्ने मलाई लाग्दछ।पुर्खाहरुको प्राचिन अस्तित्वको सार्थकता वोध गराउन र वर्तमान अवस्थामा विस्मृति तर्फ लम्किदै गैरहेको वंश अभिलेखलाई जीवन्तता प्रदान गर्न यस प्रकाशनले केही सार्थक टेवादिन सक्तछ भन्ने मलाई लागेको छ।

नेपाल अधिराज्यमा छरिएर बसेका पूर्व मेचीदेखि पश्चिमसम्मका तथा विदेशमा रहेका समेत बन्धु बान्धवहरुसँग भेटघाट तथा साक्षात्कार गरी सकेसम्म लामो समयसम्म संकलन कार्यमा आफ्नो जीवनको महत्त्वपूर्ण समय, श्रम र लगानी गर्ने वंशावली संकलनका अग्रज श्री मास्टर तुलसी प्रसाद सिटौलालाई म हार्दिक आदर तथा सम्मान प्रकट गर्न चाहन्छु।

त्यसै गरी संकलित वंशावलीलाई परिमार्जन गरी सबैले बुझ्ने तुल्याउन र छुट्न गएका नयाँ पुस्ताका नामावली समेत समेट्ने कार्यमा ज्यादै सक्रिय भई संलग्न रहने श्री एल.पि. सिटौला तथा के.पि. सिटौला दुवै प्रति कृतज्ञता ज्ञापन गर्दछु। यसैगरी यस प्रकाशनमा महत्त्वपूर्ण सघाउ पुर्‍याउने वंशावली प्रकाशन समितिका सबै सदस्यहरुलाई पनि म धन्यवाद नदिईरहन सक्दिन। सरसर्ती हेर्दा मलाई यस्तो लाग्दछ, यस प्रकाशनमा जती पूर्णत्त्व आउनुपर्ने हो त्यती आएको छैन्। कतिपय नाम छुट्न गएको होला, कतिपय नाम नै पनि गलत पर्न गएको होला, भविश्यमा प्रकाशन हुने दोस्रो संस्करणमा यस संस्करणमा भएका तमाम त्रुटिलाई सच्याउने र पूर्णत्त्व दिने कार्य अवश्य हुने नै छ। यस निम्ती पूर्व पश्चिम सबैतिरका दाजुभाइको सक्रिय सहयोग रहनु पनि त्यतिकै आवश्यक छ।

यस वंशावलीमा पश्चिम फाँटका बन्धुबान्धवहरुको श्रृंखलावद्ध नाम र जानेजति ठाउँको नाम समावेश गरिएको छ। यसै परिपेक्ष्यमा वंशावली प्रकाशन सम्बन्धी कार्यमा दाजुभाइहरुको जुन प्रकारको अपूर्व उत्साह मैले महसुस गरेँ त्यो कायम रहिरहेमा दोस्रो संस्करणमा यसमा कुनै कमजोरी बाँकी रहने छैन भन्ने कुरामा मैले भरोसा राखेको छु। व्यक्तिगत तवरमा लगानी गरेर भएपनि आफ्नो वंशको वंशावली प्रकाशन गर्ने सुअवसर मलाई प्राप्त भएकोमा म अत्यन्त हर्षित र गौरवान्वित भएको छु। यस्ता प्रकारका इतिहासको पाटोबाट सुवास फैलिने कार्य लेखिनुका साथै हाम्रो वंशले राष्ट्र तथा समाजको लागि पनि केही गरेर देखाउन सक्नु पर्दछ भन्ने म अपेक्षा गर्दछु। यस प्रशासनमा भएका त्रुटी तथा भुलहरुको लागि पहिलो पटक भएको हुनाले सबैले सम्यम राखिदिनु हुनेछ। अन्त्यमा वंशका सबै व्यक्ति फुलुन फलुन यही मेरो शुभकामना छ।

प्रकाशक

पदमलाल सिटौला

देउराली, आठराइ, तेह्रथुम कोशी अञ्चल, नेपाल

वि. सं. २०४८