वंशावली प्रथम संस्करणका संयोजक श्री एल. पि. सिटौलाज्यूले राख्नुभएको मन्तव्य

मेरो भनाई

२०२४ सालदेखि सिटौला वंशावली बारे म भित्र एउटा छटपटी आरम्भ भएको हो। तर बीचको अवधीमा यो कार्य सक्रिय रहन सकेन, सबैभन्दा शक्तिशाली प्रवाह समय हुँदो रहेछ। २०४८ साल भाद्र १९ गते दाई रंगलाल सिटौला सर्पको डसाईबाट परलोक भएपछि दशौं दिनका आवसरमा भेला भएका बन्धु बान्धवहरुसँगको विचार विनिमय नै उपरोक्त छटपटीलाई सार्थकता प्रदान गर्ने आधारभूमिको रुपमा मैले लिएको छु।

उक्त विचार विनिमयको आशय स्वरुप सबभन्दा पहिले माइधारमा २०४८ कार्तिक ३० गते र सो भन्दापछि पनि अरु भेला र छलफलहरु मैले सम्पन्न गराएँ। यस्तो दाजुभाइ बीचको संगम र संचारले माइधारमा सप्ताहा पुराण लगाउने र रामनवमी २०४८ चैत्र २० गते साङ्गेका दिन सिटौला वंशावली विमोचन गराउने जस्ता पूर्व निर्णयहरुले स्वतःस्फूर्त मलाई यस पुनित कार्यमा सक्रिय तुल्यायो।

त्यसो त काका मास्टर तुलसी प्रसाद सिटौलाले १५-२० वर्षदेखि वंशावली संकलनको फाइल च्यापी समय व्यतित गरीरहनु भएको थियो, प्रकाशित हुन बाँकी नै थियो। तर उचित समय भईसकेकाले होला, काका तुलसी प्रसादले पनि बन्धुभेलामा वहाँले संकलन गर्नुभएको वंशावलीको पाण्डुलिपी भेलालाई सुम्पिदिनु भयो। त्यसैले स्पष्टरुपले भन्नुपर्दा यो वंशावली जे जस्तो प्रकाशित भएको छ यसको समग्र श्रेय वहाँलाई नै दिनु पर्दछ।

२०२४ सालमा वंशावली संकलन र खोजीको क्रममा म पनि नुवाकोट जिल्लाको नर्जा कपिलाश लगायत त्यहाँका अन्य ठाउँहरुमा घुमेको थिएँ। त्यहाँका बन्धुबान्धवका अनुसार सिटौला वंशको पुरानो पुष्ताले कुश विर्ता पाएको दर्शाए। तैपनि पुराना अभिलेख, शिलालेख, ताम्रपत्र वा लालमोहर भने प्राप्त गर्न सकिएन।

श्रीकृष्णरमण पाध्याका दुईटी श्रीमती मध्ये कान्छी पट्टीका छोरा विशेश्वर पाध्या (कान्छा) का शाखा सन्तान पूर्वाञ्चलमा फैलिएका बन्धुबान्धवहरु भएका हुँदा वंशावली प्रकाशनको क्रममा प्रत्येक पुस्ता वा व्यक्तिसँग भेटेर पैदल घुमेर र आफ्ना जानकार समेत लगाएर यथासक्य छुट्याउने कोशिश गरिएको छ। यसप्रकार के देखिन्छ भने शंकरदेखि कमशः अहिलेसम्ममा हामी तेह्रौं पुस्तसम्म पुगेका छौं। चौथो पुस्ताका श्रीकृष्णरमण पाध्यासम्म विर्तामा नै बसेका र त्यही विर्ताबाट नै पूर्व वा पश्चिम फैलिएका साथै विशेश्वरका दाजु ईश्वर पाध्या एवं उनका सन्तान पनि नर्जाबाट अरु पश्चिम तर्फ लागेका भन्ने भएकाले अन्वेषणको तथ्यांङक पूर्ण हुन सकेको खण्डमा पूर्वमा जस्तै पश्चिममा पनि सजिलै पुस्ता छुटिन सक्छ भन्ने मलाई लाग्छ।

प्रत्येक वंशको जन्मलाई (विशेश्वर पाध्या बाहेक) १८ देखि २० वर्षको फरक राखेर अघि बढ्दा विशेश्वरका जेठा छोरा सिद्धिकर्ण पाध्या खम्बुवानको लडाईमा मारिएको घटनाले १८५३ देखि १८५६ तिर विशेश्वर पाध्या आफ्ना तीन छोरा र दुई नातीलाई साथमा लिईं ओखलढुङ्गा, ईलाम सुलुबुङ्ग, पाँचथर याशोक, छथर वेलरा (धनकुटा) र तेह्रथुम याङ्गखुवा हुँदै दश वर्ष पश्चात आठराई चुहाण्डाँडा पुगेपछि स्थायी बसोबास जमाएको देखिन्छ। राधाकृष्णको नाम उल्लेख भएको १९३४ को लिखत तमसुक फेला परेको छ। यस हिसावले १८९९ मा शिवनारायण (विर्ता मै जन्मेका) का नाति जो राम प्रसाद जन्मेको मितिबाट उनी पूर्व हिँडेको समय ठहर गर्न सकिन्छ।

जे जस्तो रुपमा भए पनि तयार भएको संकलन वंशावलीको रुपमा प्रकाशन भएपछि भविष्यमा यस्को परिमार्जित स्वरुपका निम्ती कमसेकम टेक्ने भूमिसम्म तयार भएको कुरा मान्नै पर्दछ। यस पुनित कार्यमा सहयोग पुर्‍याउने वंशका सबै दाजुभाइहरु तथा विशेष गरी प्रकाशन सम्बन्धी सम्पूर्ण खर्च वहन गरीदिने दाजु श्री पदमलाल सिटौला र सम्पादन कार्यदेखि सम्पूर्ण वैचारिक पक्षमा मन, वचन र कर्मले योगदान पुर्‍याउने समाजसेवी तथा वुद्धिजीवि भाई श्री के.पी. सिटौलालाई समेत हार्दिक कृतज्ञता ज्ञापन गर्दै मेरो भनाई यही टुंग्याउछु।

दिनाङ्क २०४८ साल चैत्र २९ गते

संयोजक

एल. पि. (लक्ष्मीप्रसाद) सिटौला

गारामुनी गा. वि..

झापा जिल्ला, मेची अञ्चल