सिटौला वंशावली द्वितीय संस्करणमा श्री टि.पि. सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभकामना

सिटौला समाजले वंशावली निकाल्ने कुरा या चर्चा सुन्दा अत्यन्तै खुसी लागेको छ। २०४८ सालमा पनि सिटौला वंशको वंशावली हामी माझ उपलब्ध भयो। उक्त वंशावली स्व. मास्टर तुलसीप्रसाद सिटौला एवं श्री लक्ष्मीप्रसाद (एल.पी.) सिटौलाको स्तुत्य प्रयासको प्ररिणाम थियो। सिटौला समाजले अब निकाल्ने वंशावली त्यसैको परिमार्जित र विस्तृत रुपको द्वितीय संस्करण हुन सक्तछ। यो अत्यन्तै सह्रानीय कार्य हो। वंशावली भन्नासाथ त्यो कुनै खास एक जात वा जातिको चिनारी मात्र नभएर, त्यस जातिको सिंगो इतिहास हो, त्यो उसको संस्कृति र सभ्यताको पहिचान पनि हो। इतिहास हेर्ने हो भने, मानव समाज निर्माण र सभ्यताको विकासमा हरेक जातजातिको विशिष्ट योगदान रहेको हुन्छ। यसरी धेरै जातजातिको बनोटबाट नै एउटा सिंगो राष्ट्र निर्माण हुन्छ। तिनीहरुको भाषा, धर्म र संस्कृतिबाट नै राष्ट्रले आफ्नो स्वरुप लिन्छ। सायद यसैलाई विविधता बीचको एकता भनिन्छ। हाम्रो देश नेपालको सुन्दरता नै जातीय विविधता हो।

सिटौला वंशावली सम्बन्धमा वंशावली प्रकाशन एवं सम्पादन मण्डलबाट धेरै कुराहरु आउने नै छन्। यस पुनित कार्यमा सकृय सहयोग गर्ने, खट्ने र प्रकाशन गरिदिने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। अन्त्यमा सिटौला सेवा समाजको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु। वंशावली यथा समयमा आउनेछ, त्यसले देशविदेशमा रहेका सबै सिटौला बन्धुहरुलाई देश र समाज प्रति जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नेछ भन्‍ने मैले अन्तरमनदेखि सुभेक्षा लिएको छु।

धन्यवाद !

दिनाङ्कः २०७० साल, बैशाख १६

तेजप्रसाद (टि. पी.) सिटौला

सुन्दरपुर, मोरङ्ग