सिटौला वंशावली द्वितीय संस्करणमा श्री मोहन प्रकाश सिटौलाज्यूले राख्‍नुभएको मन्तव्य

शुभकामना

सिटौला सेवा समाजले सिटौला वंशावलीको दोस्रो संस्करण प्रकाशनमा ल्याउन लागेकोमा ज्यादै खुसी लागेको छ। यो एक कठीन र चुनौतीपूर्ण कार्य हो, जो सम्भव हुन गएको छ।

यथार्थमा कुनै पनि वंशावलीले आफ्ना पूर्वजहरुको थात-थलो, बसाईं-सराई, रहन-सहनको साथै उनीहरुको सामाजिक पृष्ठभूमि, धार्मिक, साँस्कृतिक र शैक्षिक स्थितिलाई समग्र रुपमा प्रतिविम्बित गर्दछ। देश विदेशमा छरिएर बसेका बन्धुबान्धवहरुलाई एकै ठाउँमा समेटी सहयोग र भात्रित्वको भाव पैदा गर्दछ। अनि भावी पिँडी र पुस्ताका लागि यो वंशावली एक धरोहरको रुपमा पनि रहनेछ।

सिटौला सेवा समाजको विधिवत गठन भएको छोटो समय मै यसले अनुकरणीय कार्य गर्दै आएको अनुभूत हुन्छ। यो वंशावली प्रकाशन त्यसैको एक श्रृंखला हो। यो समाज सबैको साझा चौतारी हो। यसले आगामी दिनमा धेरै कल्याणकारी कार्य गर्नुछ। त्यसो हुँदा असल मानिसले समाज र देशलाई धेरै दिन्छ, तर आफू थोरै लिन्छ भन्ने कुरालाई हृदयंगम गरी यो समाजलाई सबल बनाउन सबैको यथा योग्य सहयोग हुने नै छ भन्ने आशा राख्दछु।

यो वंशावलीको अभिलेख तयार गर्ने क्रममा अहोरात्र खट्नु हुने तथा प्रकाशनार्थ आर्थिक, प्राविधिक लगायत अन्य कार्यमा खुला दिलले सहयोग र परिश्रम गर्नुहुने आदरणीय बन्धुवर्ग धन्यवादका सतपात्र हुनुहुन्छ। उहाँहरु प्रति मेरो सादर अभिवादन छ। अन्त्यमा सिटौला सेवा समाज सधैं सत्कार्यमा जुटी रहोस्, आफ्नो अठोटमा सफल रहोस् र कम्तीमा दश-दश वर्षमा सिटौला वंशावलीको नयाँ नयाँ संस्करण प्रकाशन भई रहोस्, यही मेरो हार्दिक शुभकामना छ। धन्यवाद !

दिनाङ्कः २०७० साल, बैशाख १३, शुक्रबार

मोहन प्रकाश सिटौला

पूर्व न्यायाधीश, सर्वोच्च अदालत

का...पा., वडा नं. १४, कलंकी, काठमाण्डौ।