महासचिवको प्रतिवेदन

सिटौला सेवा समाज नेपालको छैटौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभामा प्रस्तुत

महासचिवको प्रतिवेदन

207९ साल, चैत्र ४ गते, शनिबार

यस साधारण सभाका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, पूर्वअध्यक्षज्यूहरु, अतिथिगण, भर्चुअल साथै फेसबुक माध्यमबाट प्रत्यक्ष प्रषारण मार्फत स्वदेश तथा विदेशमा रहेर यस कार्यक्रममा सहभागिता जनाउनु हुने बन्धुहरु, सभामा प्रत्यक्ष रुपमा उपस्थित मेरा मान्यजन तथा आदरणीय बन्धुहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु साथै उपस्थित सम्पूर्ण सदस्य महानुभावहरु,

सिटौला सेवा समाज नेपालको यो छैटौं अधिवेशन तथा एघारौं साधारण सभालाई सार्थकता दिन र समाजको अग्रगमानमा साथ दिन यस गरिमामय सभाको वैभव कायम राख्‍न आजको पुरा दिन यस सभालाई अर्पण गरेर आफ्नो सहभागीता जनाइ दिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक स्वागत एवं अभिवादन गर्दछु। उपस्थित सबैमा हार्दिक अभिवादन !

यस समाजलाई एक संगठित संस्थाको रुपमा अघि बढाउन यहाँहरुले प्रदान गर्नुभएको अमूल्य समय, ऐक्यवद्धता, हौसला, सहयोग र समर्थनलाई यस कार्यसमितिले प्रेरणाको रुपमा ग्रहण गरी आफ्ना कार्यहरुलाई अघि बढाउँने प्रयास अविच्छिन्न रुपमा जारी राखेको छ। सम्पूर्ण कार्यहरु आफूले चाहे अनुरुप वा अपेक्षा गरे अनुसार सम्पन्न गर्न नसके पनि साधारण सभाले निर्देश गरे बमोजिमका कार्यहरु स्रोत र साधनले भ्याएसम्म यथासम्भाव सम्पन्न गर्ने कोशिश गरिएको छ। कार्य सम्पादनको लागि सामुहिक रुपमा छलफल गरी तोकिएको समयमा सम्पन्न गर्न कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यज्यूहरु निस्वार्थ रुपमा प्रतिवद्ध भएर लागि पर्नु नै महत्त्वपूर्ण कदम हो भन्ने हामीले ठानेका छौं। जसले सामुहिक कार्य सम्पादनमा अरु थप आशा भरोसा पैदा गरेको छ। संस्थाका आफ्नै सिमा र स्रोतहरु हुन्छन्, जसले विविध कार्यहरु गरी संस्थागत विकासमा फड्को मार्न सकिन्छ।

संगठनात्मक रुपमा सिटौला सेवा समाज नेपाल धेरै सबल भैसकेको छ। व्यवस्थापनका पाटाहरु समय क्रमसँगै सुधार हुदै जाने विषय हुन, आगामी कार्यसमितिले यसलाई व्यवस्थित गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं। आज हामीसँग सकृय रहेका शाखा कार्यलयहरु झापा, नुवाकोट, धादिङ्ग, ताप्लेजुङ्गमा औपचारिक र सुनसरी मोरङ्गमा अनौपचारिक रुपमा संगठन निर्माण भई कार्य आरम्भ गरिसकेको अवस्था छ। आज यस गरिमामय सभामा यी सबै क्षेत्रबाट प्रतिनिधित्व गरी सिटौला बन्धुहरुले सांगठानिक सहभागीता जनाउनु भएकोमा म वहाँहरु सबैलाई हार्दिकताका साथ विशेष सम्मान गर्दै सभामा स्वागत गर्न चाहन्छु। सबै शाखा कार्यालयहरुले राम्रो काम गर्नुभएको छ, जस मध्ये झापा शाखाले संगठन निर्माण र सामाजिक सेवा विस्तार गर्न खेलेको भूमिका र शाखाको सकृयता सम्मान गर्न योग्य छ। सिटौला सेवा समाज नेपालका उपध्यक्ष तथा झापा शाखाका वर्तमान अध्यक्ष श्री प्रेम प्रकाश सिटौला एवं वहाँको सम्पूर्ण कार्यसमिति प्रति केन्द्रिय संठगनको हैसियतले सिटौला सेवा समाज नेपाल हार्दिक धन्यवाद ज्ञापन गर्दै उच्च सम्मान व्यक्त गर्दछ। झापा जिल्ला दोमुखा स्थित निर्माण हुन गैरहेको सिटौला कुलमन्दिरलाई आवश्यक सहयोग जुटाउनु पर्ने विषयमा प्रस्ताव भएकोमा केन्द्रिय कार्यसमितिको ध्यानाकर्षण भएको छ। यसमा अब निर्माण हुने कार्यसमितिले आवश्यक निर्णय गर्नेछ भन्ने विश्वास लिएको छु।

पूर्व अध्यक्ष श्री जनारदन सिटौलाज्यू, वंशावलीको द्वितीय संस्करण तयार गर्ने क्रममा संकलन कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने आदरणीय व्यक्तित्त्व श्री टिका प्रसाद सिटौलाज्यू हाल अमेरिकामा उपचार गरिरहनु भएकोछ, वर्तमान कार्यसमितिका केन्द्रिय उपाध्यक्ष एवं झापा शाखाका अध्यक्ष श्री प्रेम प्रकाश सिटौलाज्यू पनि हाल विरामी अवस्थामा उपचारको क्रममा रहेकोले यस सभामा उपस्थित हुन सक्नुभएको छैन्। सिटौला सेवा समाज नेपाल र मेरो व्यक्तिगत तर्फबाट वहाँहरु लगायत विरामी भएर स्वास्थ्योपचारमा रहनु भएका सबै बन्धुहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

यस कार्यसमितिका वरिष्ठ उपाध्यक्ष श्री भोला प्रसाद सिटौलाज्यूका जेठा दाजु श्री कृष्ण प्रसाद सिटौलाज्यूको असामयिक रुपमा स्वर्गारोहण हुन गएकोले वहाँ यस सभामा उपस्थित हुन सक्ने स्थिति रहेको छैन्। स्व. कृष्ण प्रसाद सिटौला एवं यस वर्ष दिवंगत हुनुभएका सम्पूण वन्धुहरु प्रति सिटौला सेवा समाज नेपाल र मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्‍जली व्यक्त गर्दछु।

यस कार्यसमितिको कार्यकालको अधिकांश समय कोरोना एवं डेङ्गीको महामारीमा परी कार्यप्रतिकूल अवस्था सृजना भएको अवस्थामा पनि गत पाचौं अधिवेशन तथा नवौं र दशौं वार्षिक साधारण सभाले यस कार्यसमितिलाई निर्देशन गरेका केही महत्त्वपूर्ण कार्यहरुलाई सम्पन्न गर्न हामी सफल भएका छौं।

सिटौला वंशावलीको द्वितीय संस्करण प्रकाशन 2070 साल देखि नै छलफल र चर्चाको विषय रहेको वंलावलीलाई अनलाइन गर्ने कार्य यस कार्यसमितिले सफलता पुर्वक सम्पन्न गरेको कुरा यहाँहरु समक्ष राख्‍न पाउँदा हामी अत्यन्तै खुसी भएका छौं। यस कार्यले हामीलाई आगामी दिनमा सिटौला वंशावली संकलन गर्न घरघर हिड्नु पर्ने अत्यन्त कठीन र दुरुह कार्य अब अन्त्य भएको छ। उक्त अनलाइन वंशावली हामीले यस गरिमामय अधिवेशनमा प्रमूख अतिथि श्री भक्ति प्रसाद सिटौलाज्यू, कार्यसमितिका अध्यक्ष डा. सुरेन्द्र कुमार सिटौदलाज्यू र वंशावली निर्माण एवं छपाईमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने आजका सम्मानित व्यक्तित्त्व श्री एल. पि. सिटौलाज्यूको हातबाट समुद्घाटन गरिदैछ। यस अनलाइन वंशावलीलाई पूर्णता प्रदान गर्ने कार्यमा रातदिन खटिएर, कठीन परिश्रम गरी महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने, फुङ्लिङ-, मेदिबुङ्ग, ताप्लेजुङ्ग स्थायी घर भई, अनामनगर काठमाण्डौ बस्ने, यस कार्यसमितिका केन्द्रिय सदस्य श्री डिल्ली प्रसाद सिटौलाज्यू धन्यवादका पात्र हुनुहुन्छ। वहाँले गर्नुभएको कार्यको कदर स्वरुप यो कार्यसमिति वहाँलाई विशेष सम्मान र धन्यवाद दिन चाहन्छ। साथै यस महत्त्वपूर्ण कार्यलाई सम्पन्न गर्न सघाउ पुर्‍याउनु हुने कार्यसमितिका पदिधिकारीज्यूहरु, सदस्यज्यूहरु, आदरणीय सल्लाहकारज्यूहरु साथै सम्पूर्ण सिटौला बन्धुहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो अनलाइन वंशावली सम्बन्धी सफ्टवेर उपलब्ध गराएर हामीलाई सहयोग गर्ने श्री वंश टेक प्रा.लि. एवं वहाँको सम्पूर्ण व्यवस्थापन टिम समेत धन्यवादका पात्र हुनुहुन्छ।

यस कार्यसमितिले पाएको जिम्मेवारी मध्ये अर्को महत्त्वपूर्ण काम सिटौला वंधुहरुको एकताको प्रतिकको रुपमा काठमाण्डौ उपत्यका भित्र सम्भव भएसम्म फराकिलो ठाऊँमा जग्गा खरिद गरी भवन निर्माण गर्ने कार्य हो। यसले देशभरीका बन्धुहरु भेला भई एकिकृत रुपमा गोठधुप, कुलपूजा जस्ता हाम्रो संस्कार, संस्कृति र परम्परा जोगाउने कार्यलाई व्यवस्थित गर्ने उद्धेश्य लिएको छ। विगतका गरिमाय सभाहरुले अनुमोदन गरेको "घरजग्गा व्यवस्थापन सम्बन्धी" कार्यलाई यस कार्यसमितिले विशेष प्राथमिकताका साथ अघि बढाईएको अघि बढाएको कुरा यस गरिमामय सभामा राख्‍न चाहन्छु। यस कार्यलाई सफल बनाउन बलियो जग बसाउन र सबै बन्धुहरुलाई हौसला प्राप्त हुन सकोस भनी समाजका अध्यक्ष श्री डा. सुरेन्द्र कुमार सिटौलाज्यूले १५ लाख रुपैयाँ सिटौला सेवा समाज नेपालको बैंक खातामा जम्मा गरीसक्नु भएको कुरा यहाँहरु समक्ष सगौरव व्यक्त गर्दछु। उक्त कार्य सम्पन्न गर्नको लागि रकम कबोल गर्नुहुने सिटौला सेवा समाज नेपालको कार्यसमितिका पदाधिकारीहरु, सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु र अरु सिटौला बन्धुहरुको नामावली अनलाइन वंशावलीको घरजग्गा व्यवस्थापन सम्बन्धी शिर्षकमा सार्वजनिक गरिएको छ।

घरजग्गा व्यवस्थापन सम्वन्धी कार्य सिटौला सेवा समाजलाई दूरगामी प्रभाव पार्ने महत्त्वपूर्ण कार्यक्रम हो। यो आफैमा महत्त्वकांक्षी योजना, ठूलो आर्थिक व्यभार पार्ने कार्यक्रम भएकोले यसमा कार्यसफलता मिल्छ वा मिल्दैन भन्ने द्विविधात्मक स्थिति सृजना हुनु स्वभाविक नै हुन्छ। आवश्यकताको हिसाबले हेर्ने हो भने नुवाकोट, धादिङ्ग, झापा, सुनसरी, मोरङ्ग, आठराइ ताप्लेजुङ्ग, काभ्रे लागायत सबै क्षेत्रका सिटौला बन्धुहरु काठमाण्डौ उपत्यकामा केन्द्रित भएको अवस्था छ। हामी देश विदेशमा छरिएर रहेका बन्धुहरुको एकताको प्रतिकको रुपमा यो कार्यक्रम आएको हो भन्ने कुरा हामी सबैमा विधितै छ। सबै सिटौला बन्धुहरु एकिकृत भई एकतावद्ध भएपछि संयुक्त रुपमा बैठक, भेला, वनभोज जस्ता कार्यक्रम गरिएता पनि हाम्रा परम्परा संस्कृति एवं संस्कारहरुलाई संरक्षण गर्न गरिने कार्यक्रमहरु हामी एकै ठाऊँमा बसेर सम्पन्न गर्न अवसर भए पनि उपयुक्त स्थानको अभाव छ। यही आवश्यकतालाई मध्यनजर गरेर यो घरजग्गा सम्बन्धी कार्यक्रम अघि सारिएको हो। दीर्घकालीन योजनाको रुपमा देशविदेशमा रहेका सबै बन्धुहरुलाई आवाहन गरी, क्रमबद्ध रुपमा कार्यसूची निर्माण गरेर धैर्यताका साथ अघि बढ्न सकेको खण्डमा हामी अवश्य गन्तव्यमा पुगिन्छ भन्ने यो कार्यसमितिको प्रतिवद्ध धारणा हो। विश्वव्यापी आर्थिक मन्दी, कोरना एवं डेङ्गीको महामारी र अन्य परिस्थितिगत कारणले हामी सबैले कबोल गरेको रकम समाजमा जम्मा हुन सकेको छैन्। बोलेको रकम सबै दाताहरुले जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ। यस महानकार्यलाई सम्पन्न गर्न ठोस योजनाको अभाव हामीले महसुश गरेका छौं। घरजग्गा व्यवस्थापन सम्बन्धमा यस गरिमामय सभामा विस्तृत छलफल गरी, कार्यक्रमलाई अग्रगमन तर्फ उन्मुख गराउन आफ्ना बहुमूल्य विचारहरु राखी सभाबाट उपयुक्त समाधान प्राप्त होस भनी छलफलको लागि पेश गरेको छु।

अब म आर्थिक वर्ष २०७८/०७९ मा यस सिटौला सेवा समाज नेपालबाट भए गरेका नियमित कार्यहरुको संक्षिप्त विवरण पेश गर्न सभाको अनुमती चाहन्छु।

क) गत आर्थिक वर्ष २०७८/०७९ मा यस कार्यसमितिको बैठक ११ पटक बसी आवश्यक छलफल र निर्णय गरियो।

ख) २०७९ सालको सिटौला सेवा समाज नेपालको भित्तेपात्रो (क्यालेण्डर) छपाई गरी विगत वर्ष झै सबै बन्धुहरुसम्म पुग्ने गरी वितरण गरियो। क्यालेण्डर छपाईको लागि विज्ञापन उपलब्ध गराई सहयोग गर्नुहुने विज्ञापन दाता बन्धु एवं अन्य महानुभावहरुको उत्तरोत्तर प्रगति र संमृद्धिको कामना गर्दै उहाँहरु प्रति यो समाज हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

ग) मृगौला रोगी, क्यान्सर पिडित, उच्चशिक्षा लागायत अन्य विभिन्‍न क्षेत्रमा समाजले यथासक्य सहयोग गर्दै आएको छ। सिमित स्रोत, साधन र वित्तीय अवस्थाको कारणले विगतदेखि नै सेवाको क्षेत्र खुम्चिएको कुरा हामी सबैमा विधितै छ। यस विषयमा आगामी दिनमा समाज सेवाको क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न सुझावको लागि यस गरिमामय सभा समक्ष मार्ग निर्देशन होस भनी अनुरोध गर्दछु।

घ) तनहुँ जिल्ला देवघाट स्थित बदरिनारायण मन्दिरमा पूजा खर्चको लागि विगत वर्षहरु झै जम्मा रु. १२००० बाह्र हजार प्रदान गरियो।

ङ) विगत वर्ष झै यस वर्ष पनि मा.तु.सा. अक्षय कोषको व्याजबाट सिटौला सेवा समाज नेपाल परिवारका जेष्ठ आमा बुबाहरुलाई दोसल्ला ओढाई सम्मान गरियो।

च) यस सिटौला सेवा समाज नेपालमा हालसम्म आवद्ध आजीवन सदस्यको संख्या 602 जना पुगीसकेको छ। यस संस्था प्रति सद्भाव प्रकट गर्नु भई आजीवन सदस्य हुनुभएकोमा यहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै सदस्यता विवरण कार्यलाई निरन्तरता दिईएको छ।

यस गरिमामय सभामा उपस्थित महानुभावहरु !

संस्थालाई अग्रता प्रदान गर्न केवल व्यक्ति वा कार्यसमिति अग्रसर भएर मात्र पुग्दो रहेनछ, यसमा सबैको सहभागीता हुन आवश्यक देखिन्छ। त्यसैले हरेक सदस्यको सहभागिता, सहयोग, सल्लाह सुझाव र कार्यप्रतिवद्धताले मात्र संस्था बलियो साथै चीरस्थायी हुन्छ। त्यसैले सम्पूर्ण बन्धुहरुको सकृय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु।

यस संस्थाको आ.व. 2078/079 को आर्थिक गतिविधि तथा आय व्ययको विवरण कोषाध्यक्षज्यूको प्रतिवेदनबाट स्पष्ट हुने नै छ।आर्थिक रुपले समाजलाई सक्षम गराउन र आगामी वर्षको कार्यक्रमलाई अग्रता दिन यहाँहरु सबैबाट विशेष सहयोग रहने कुरामा आशा एवं विश्वास लिएको छु।

सिटौला सेवा समाज नेपालको बैठक संचालन, पुस्तक भण्डारण तथा अन्य कार्यक्रम सन्चालनमा यस बागमती बोर्डिङ्ग तथा कलेज एवं विद्यालय व्यवस्थापन परिवारबाट भईआएको सहयोगको लागि यो सिटौला सेवा समाज नेपाल र मेरो व्यक्तिगत तर्फबाट वहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु।

अन्त्यमा, संस्थाको उन्नति र प्रगतिका लागि पूर्ण रुपमा समर्पित आदरणीय पूर्व-अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन तथा साधारण सदस्यज्यूहरु, मानार्थ सदस्यज्यूहरु तथा अग्रज बन्धुहरु, चेली-वेटी, भान्जा-भान्जी, नाता-गोता, कुल-कुटुम्ब, सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यो सम्क्षिप्त प्रतिवेदन यही अन्त्य गर्ने अनुमती चाहन्छु।

Text Box: प्रस्तोता

हरिप्रसाद सिटौला

महासचिव

सिटौला सेवा समाज नेपाल