वंशावलीको अनलाईन संस्करणमा समाजका अध्यक्ष, डा. सुरेन्द्र कुमार सिटौलाज्यूको मन्तव्य : २०७९ चैत्र ४ गते, शनिबार

सिटौला बन्धुहरुको वंशावली, पहिलो पटक २०४८ सालमा प्रकाशन भएको थियो। सिटौला सेवा समाज नेपालको मूख्य योगदानमा २०७० मा लगभग २२ वर्षपछि हामीले वंशावलीको द्वितीय संस्करण प्राप्त गरेका थियौं। अब हामी सिटौला वंशावलीको अनलाइन संस्करणमा प्रवेश गर्दैछौं। सिटौला वंशको यो अनलाइन वंशावली, प्रथम र द्वितीय संस्करण (लिखित दस्तावेज) कै जगमा तयार गरिएको छ। विगतका संस्करणहरु वंशावलीका ऐतिहासिक दस्तावेज हुन्। ती संस्करणमा रहेका महत्त्वपूर्ण लेखोटहरु, समाजका आदरणीय एवं सम्माननीय व्यक्तित्त्वहरुले दिनुभएका मन्तव्यहरु र वंशावलीमा भएका विवरणहरु जस्ताको तस्तै यस अनलाइन संस्करणमा उतार गरिएको छ। यस कार्यले वंशावली संकलन सम्बन्धी कठीन र दुरुह कार्य अब उप्रान्त सदाका लागि अन्त्य भएको छ। यो कुरा सबै बन्धुहरु माझ राख्‍न पाउदा म अत्यन्तै हर्षित छु। आगामी दिनमा सिटौला वंशसँग सम्बन्धित महत्त्वपूर्ण दस्तावेजहरु संरक्षण, सुरक्षा वा सार्वजनिक गर्न यस अनलाइन सफ्टवेरको सहयोग लिन सकिनेछ। हाम्रो यो महत्त्वपूर्ण उपलब्धीलाई सिटौला सेवा समाज नेपालको आगामी कार्यसमितिले अपनत्व ग्रहण गर्दै बाँकी रहेका कार्यहरुलाई प्राथमिकताका साथ निरन्तरता दिनेछ भन्ने कुरामा म विश्वस्त छु।

समय क्रमअनुसार वंशावली निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने समाजका सम्पूर्ण श्रष्ठाहरुलाई हृदयदेखि नै सम्मान व्यक्त गर्दछु। वंशावली संकलक स्वर्गीय मास्टर तुलसी प्रसाद सिटौला तथा वहाँका जेष्ठ सुपुत्र श्री टिका प्रसाद सिटौला प्रति विशेष सम्मान व्यक्त गर्दछु। साथै वंशावली निर्माणमा योगदान पुर्‍याउनु हुने बन्धुहरुमा, वंशावलीको प्रथम संस्करण प्रकाशन गर्ने कार्यमा संयोजनकारी भूमिका निर्वाह गर्नुहुने श्री एल. पि. सिटौलाज्यू तथा संपादकको भूमिका निर्वाह गर्नुहुने श्री कृष्ण प्रसाद सिटौलाज्यू र वंशावलीको द्वितीय संस्करण प्रकाशनमा नेत्रित्त्वदायी भूमिका निर्वाह गर्नुहुने सिटौला सेवा समाजका तात्कालीन अध्यक्ष श्री जनार्दन सिटौलाज्यू साथै वहाँको कार्यसमितिका पदाधिकारी र सदस्यज्यूहरु धन्यवादका पात्र हुनुहुन्छ।

वंशावलीको प्रथम र द्वितीय संस्करण आफ्नो निजी खर्चमा छपाई गरी सिटौला वंशावलीलाई सबैको हात हातमा पुर्‍याउने कार्यमा स्वर्गीय पदमलाल सिटौला एवं वहाँको परिवारको महत्त्वपूर्ण योगदान रहेको छ। यस महान एवं पुनित कार्यमा योगदान पुर्‍याउनु हुने स्व. पदमलाल तथा वहाँको परिवार प्रति सिटौला सेवा समाज नेपाल र मेरो व्यक्तिगत तर्फबाट श्रद्धाका साथ आभार प्रकट गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछु। स्वर्गीय पि. पि. सिटौलाले वंशावली द्वितीय संस्करणमा राख्नु भएको मन्तव्यमा निकट भविष्यमा यो प्रकाशित वंशावलीलाई पनि सिटौला सेवा समाजले Ancestry.com (अनलाइन वंशावली) को रुपमा उतारोस् भनी आफ्नो सुभेच्छा एवं शुभकामना व्यक्त गर्नुभएको पाइन्छ। वहाँ लगायत सबै सिटौला बन्धुहरुको सद्भाव साथै शुभेच्छाको फलस्वरुप १० वर्षसम्मको निरन्तर प्रयास पश्चात हामी अनलाइन संस्करणको रुपमा सिटौला वंशावलीको तेस्रो संस्करण आज भव्यताका साथ विमोचन गर्दैछौं। छ महिनाको सफल परिक्षण पश्चात आज २०७९ साल चैत्र ४ गते शनिबारका दिन, सिटौला सेवा समाज नेपालको छैटौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभामा सबै बन्धु तथा आफन्तहरु माझ अनलाइन वंशावली विमोचन गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ। यो वंशावली अनलाइन संस्करण तयार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने, मेदिबुङ्ग, ताप्लेजुङ्ग स्थायी बसोबास भई, हाल अनामनगर काठमाण्डौ बस्ने, सिटौला सेवा समाज नेपालका केन्द्रिय सदस्य श्री डिल्ली प्रसाद सिटौलालाई म र मेरो सिंङ्गो कार्यसमितिको तर्फबाट सम्मानका साथ हार्दिक धन्यवाद व्यक्त गर्दछु।

वंशावलीको द्वितीय संस्करण, २070 लाई जस्ताको त्यस्तै सम्पूर्ण नामावली यस संकरणमा उतार (प्रविष्ट) गरिएको छ। डाटा प्रविष्ट गर्ने क्रममा पाइएका र पहिचान गर्न सकिएका सम्म सामान्य त्रुटीहरुलाई यसमा सच्याउने प्रयास गरिएको छ। सिटौला बन्धुका ज्वाईं र भान्जा भान्जीलाई वंशावलीको यस अनलाइन संस्करणमा समेट्ने गरी यसको सफ्टवेर निर्माण गरिएको छ। चेली पट्टीको वंशविन्यास भान्जा भान्जीसम्म मात्रै सिमित रहनेछ। वंशावलीको द्वितीय संस्करणमा समावेश भएका कतिपय सामान्य त्रुटीहरुलाई सच्याई पुरानो नाता सम्बन्ध कायम हुने गरी पिँडी (पुस्ता) मिलाईएको छ। समय अभावका कारण वंशावली सम्बन्धी थप काम गर्न, अन्य त्रुटीहरु सच्याउन र सामान्यतः 2070 साल पछि विवाह गरी सिटौला वंशमा आएका बुहारीहरु, त्यसपछि जन्मिएका छोराछोरीहरु र प्रायः सबै ज्वाईं तथा भान्जाभान्जीहरुको नामावली यस अनलाइन वंशावलीमा प्रविष्ट गरिएको छैन्। वंशावलीसँग सम्बन्धित यी बाँकी कार्यहरु आज निर्वाचित नयाँ कार्यसमितिले आगामी दिनमा प्राथमिकता दिएर सम्पन्न गर्नेछ भन्ने मैले विश्वास लिएको छु।

अन्तमा हामी निकट भविष्यमा नव वर्ष 2080 सालमा प्रवेश गर्दै छौं । नव वर्ष, 2080 सालको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने मेरा सम्पूर्ण बन्धुबान्धव एवं ज्वाईंचेला, भान्जाभान्जी साथै आफन्तजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। पुनः वंशावली प्रथम तथा द्वितीय संस्करणमा योगदान पुर्‍याउनु हुने संकलनकर्ता, अनुसन्धानकर्ता, संग्रहकर्ता, सम्पादक, प्रकाशक साथै यस अनलाइन वंशावली तयार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने मेरो कार्यसमितिका पदाधिकारी तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरु साथै सबै अग्रजहरु प्रति आभार एवं कृतज्ञता प्रकट गर्दै यो संक्षिप्त मन्तव्य अन्त्य गर्ने अनुमति चाहन्छु।

डा. सुरेन्द्र कुमार सिटौला

अध्यक्ष

सिटौला सेवा समाज नेपाल