वंशावली प्रथम संस्करणमा स्व. मा. तुलसी प्रसाद सिटौलाज्यूले राख्नुभएको मन्तव्य

जीवनको घामपानी र हुरी बतासमा मैले लामो विषमतापूर्ण संघर्षहरुमा आफ्नो जीवनको समग्र समय लगाएको छु। मेरा अन्य कुनै उपलब्धी र परिणामहरु छैनन् । ब्याप्त प्रतिकूलता र अवरोधका बावजुद पनि आजसम्म म आफ्नै धारणामा समयसँग वगिरहेको छु । यसरी बग्दा बग्दै कालको गति नापेर हेर्दा आज म फगत ७१ वर्षीय दुब्लो मृत्यु बाहेक आफूलाई अरु केहि संझना पनि गर्न नसक्ने अवस्थामा पुगेको छु।

तर यसै अवधिमा मैले पहिला देखिनै संकलन गरिराखेको सिटौला वंशावली प्रकाशन गर्ने जमर्को बन्धु बान्धवहरुबाट भएपछि मेरा सहस्रौं परीश्रम मध्ये एउटा मात्र मैले सार्थक परिश्रम गरेको रहेछु जस्को मुल्यांकन ढिलै भएपनि गरिएकोमा आज म ज्यादै हर्षविभोर भएको छु।

१९८६ सालको कुरा हो , म केटाकेटी अवस्था कै भएपनि केहिकुराहरुले छुनथाली सकेको रहेछ, एकजना बन्धुको विवाहमा म गएको थिएं तर त्यसैको ठीक एकदिन अघि एकजना बन्धुको मृत्युभएको थियो, यस प्रसङ्गमा कुराचल्दा एकजना मान्य बन्धुले मेरो कान समाते । यो उत्सुकता मेटाउन घरमा गएर आफ्नो पितालाइ सोधें अनि वाहांले त्याहां कान समात्नुको अर्थ कानपुछुवा भनेको हो लाटा भन्नुभयो । भावार्थ चाहिं टाढाको दाजुभाइको र्मत्युले विबाह कार्यलाई असर पुर्याउदैन भन्ने रहेछ । उक्त घटनाले मलाई तरंगित गरिरहेको थियो, पछि आफू सवल भएपछि मैले दाजु भाई भनेको टाढा नजिकको हुदैन, यथार्थमा दाजुभाइ भनेको नजिकै हुन्छ एकै हुन्छ, भन्ने भावनालाई पुष्टी दिनका निम्ती वंशावली संकलन कार्यमा अभिप्रेरित भएको थिएं र अहिले पनि छु ।

यहि स्वतःस्फुर्त भावनात्मक प्रेरणाको कारणले मलाई वंशावली संकलन कार्यमा लगभग १५/२० वर्ष जती लगाउनु परेको थियो । यस्ता कार्यहरु ज्यादै दुर्गम र कठीन हुदारहेछन् । म यस निम्ती नेपालका ७५ जिल्ला र भारतका अल्मोडा जिल्लाको कुमाउगढ, पुर्वमा आसाम, मणिपुर लगायत भुटान र वर्मा समेत घुमेको छु ।

तर उपरोक्त परिश्रमका वाबजुद पनि वंशावलीको पूर्ण तथ्याङ्क अझै पनि पुरा हुन नसक्दा यो केहि अधुरो ने छ भन्ने मलाइ लाग्छ । तर यतिसम्म भएपछि सिटौला वंशका उज्याला, कर्मठ तथा सृर्जनशील व्यक्तिहरुले यसलाई दोस्रो संस्करणमा पूर्णत्त्व दिलाउन सक्नेछन् भन्ने कुरामा मैले वलियो विश्वास लिएको छु।

शारांसमा मैले संचय गरेर राखिदिएको सिटौला वंशको वंशावली अभिलेख २०४८ साल चैत्र २९ गते रामनवमीका दिन माइ नदिको किनारामा सप्ताह पुराण समेत सम्पन्न गराई मेरो हातबाट वंशावली विमोचन गर्ने शुभ अवसर मलाई दिएकोमा पुनः म बन्धु बान्धव प्रती कृतज्ञ छु । अन्त्यमा मेरो यो अथक प्रयाशलाई एकलौटी खर्च बेहोरी आफ्ना पिता पद्म लाल सिटौलाका नामबाट प्रकाशन गरी दिने हाम्रो वंशका उच्च शिक्षाविद् , बुद्धिजिवी तथा समाजसेवी सेन्ट जोसेफ माध्यमिक विधालय (निजिक्षेत्र) का संचालक श्री पी.पी. सिटौला उपर म हार्दिक आभार व्यप्त गर्दछु ।

त्यसैगरी यस कार्यका निम्ति उचित वातावरण सृर्जना गरी संयोजकको भुमिका निर्वाह गर्ने श्री एल.पी. सिटौलालाई पनि हार्दिक आभार व्यक्त गर्दछु। अन्त्यमा सिटौला वंशले आफ्नो समाज तथा राष्ट्रमा र भरसक विश्वमै उज्वल कीर्ती राख्न सकोस् भन्‍ने भगवानसँग मेरो यहि एक मात्र प्रार्थना छ ।

दिनांकः २०४८ चैत्र २९ गते

शुभेच्छुक

मास्टर तुलसी प्रसाद सिटौला

मेचि अञ्‍चल निघुरादिन –३, ताप्लेजुङ्ग